म्याग्दी,पुस १६ गते । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो ।
राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग एक करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ ।
आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ । कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ ।
गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रूपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्मशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरूलाई बसोवासको व्यवस्था मिलाइएको छ ।
यस वर्ष बेनी सहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताउनुभयो ।
ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरूको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार आठ सय ३९ रहेको छ । रासस