• १६ पुस २०८२, बुधबार

पर्यटकीय गन्तव्य बन्दै झ्वाइ खोल्सी

blog

प्राकृतिक सौन्दर्यले भरिपूर्ण लहान वडा १५ मा रहेको झ्वाइ खोल्सी । तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान, पुस १६ गते । लहान नगरपालिका वडा १५ उत्तरी भेगका चुरेसँग जोडिएको भूभाग प्राकृतिक दृश्यले भरिपूर्ण छ । यस वडामा हात्ती दह र राजदेवी पञ्चावतीमा त आन्तरिक र बाह्य पर्यटकहरु ओइरो लागेको छ । झ्वाइ खोल्सी अहिले  आन्तरिक पर्यटकहरुको लागि गन्तव्य बन्न थालेको छ ।

झ्वाइ खोल्सीमा स्थानीय थारु र मुसहर समुदाय मिलेर सौन्दर्यीकरणमा लागेपछि अहिले स्थानीय सरकार र प्रदेश सरकारमा समेत प्राथमिकतामा पर्न थालेकोले अब केही वर्षमा यस खोल्सीलाई मधेश प्रदेशकै नमुना बनाउने गरी काम भइरहेको झ्वाइखेल्सी वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘राजदेवी र हात्ती दह आउने पर्यटकहरुलाई झ्वाइ खोल्सी हेर्न आउने गरी लागेका छौं ।’’

यस झ्वाइ खोल्सीलाई प्राकृतिक पर्यटकीय स्थल बनाउन निरन्तर लागिरहे पनि यस क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका बौद्धिक चिन्तक स्वर्गीय प्रदीप गिरीले स्थलगत भ्रमण गरेर बजेट विनियोजन गरेपछि यो ठाउाँ बल्ल स्थानीय र प्रदेश सरकारको ध्यान तानिएको उहाँले प्रष्टयाउनुभयो । 

गोसाइँकुण्ड खोल्सीकाे पानीलाई जम्मा गरेर आवश्यकताभन्दा बढी पानी सिंचाइका लागि प्रयोग गर्न सक्ने सम्भावना अध्ययनपछि यस खाेल्सीमा भूसंरक्षण सिंचाइ कार्यालयले लगानी गरेको छ । झ्वाइ खोल्सीको पानी बानोगाउँका किसानले प्रयोग गरेर तरकारी गहुँ धान र अन्य बाली उत्पादन गर्न थालेपछि अहिले झ्वाइ खोल्सी बानोगाउँका थारु र मुसहर समुदायको उत्थानमा मद्दत पुगेको छ। 

लहान नगरपालिकाले झ्वाइ खोल्सीको डाँडामा शिव मन्दिर बनाउन,  आउजाउ गर्न गाउँमा सडक ढलान र थारु परिकारबाट पर्यटकलाई खुसी बनाउन थारु संस्कृति होमस्टेको व्यवस्थापन भइसकेको स्थानीय झ्वाइ खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीले सुनाउनुभयो । उहाँका अनुसार खोल्सी दहमा माछापालन गरेर वर्षेनी दुई लाख, वनको डालापात दाउरा बेचेर पाँच लाख गरी सात लाख आम्दानी भइरहेको छ । 

पोखराको फेवाताल जस्तै बनावट रहेको झ्वाइ खोल्सीलाई अहिले शनिबार स्थानीय आन्तरिक पर्यटकीय स्थलको रुपमा रहेपनि यसभित्र अझै सौन्दर्यीकरण गरेर मधेश प्रदेशकै नमुना पर्यटकीय स्थल बनाउन लागि परिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो ।‘‘लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने वडा १५ मा नै हात्ती दह, राजदेवी पञ्चावतीसँगै जोडिएको झ्वाइ खोल्सी पर्यटकीय स्थलले लहानको समृद्धि र विकासको आधार भएकोले यसको विस्तारका लागि नगरपालिकाले प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।’’

लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका शिक्षक प्राध्यापक सञ्चालक समितिले झ्वाइ खोल्सी पुगेर देखिएको प्राकृतिक दृश्यले पोखराको फेवातालको झझल्को दिएको क्याम्पस प्रमुख सञ्जकुमार चौधरीले यसको महिमा विस्तारका लागि प्रचार प्रसारमा हाम्रो क्याम्पसले सघाउने विश्वास व्यक्त गर्नुभयो । 

बानो नदीमा पुल निर्माण, झवाइ खोल्सीमा बाटोको सौन्दर्यीकरण, पर्यटकलाई रमाउन डुङ्गा ठाउँ ठाउँमा गोलघर चिल्ड्रेन पार्क निर्माणमा तत्कालै ध्यान दिइनुपर्ने उहाँले क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहनुभएका लहान नगरप्रमुख महेशप्रसाद चौधरीको ध्यानाकर्षण गराउनुभयो ।