मेट्नु छ,
भित्तामा कोरिएका सन्दर्भहीन अक्षरहरू
फोड्नु छ,
तह नमिलेका विभेदका पर्खालहरू
भन्यो समयले
एउटा कुरूप युगको अवशेष
वर्तमानको अनुहारमा सुहाउँदैन
इतिहासले कोरेका बदनाम हरफहरू
मान्छेलाई खण्डित बनाउने पङ्क्तिहरू
बालुवामा कोरिएको आकृति
जसरी हराउँछन् पानीको लहरमा
हराउनुपर्छ त्यसरी नै
मान्छेलाई आइमाई मात्र ठान्ने कथाहरू ।
एक दिन–
मेरो निरिहता देखेर
बिरक्तिँदै ऊ भन्न लाग्यो
सप्कोभित्र अनुहार लुकाएर हिँड्न सुहाउँदैन
डिलैनेर पुगेको आँखाको आँसुले
बगाउन सक्नुपर्छ
बग्दा बग्दै थुप्रिएका नदी किनारका गन्दगी
मेट्न सक्नुपर्छ आइमाईप्रति लक्षित
समाजले कोरेको लक्षमण रेखा
बिउँझ अब
र घामको मुस्कान ओठमा सजाऊ
आकाशको रङ्गले पोत हृदयका भित्ता
चराका पखेटाहरू उनेर
उन्मुक्त उड
अनि हेर
आँधीको वेगमा तिम्रो तागत
पानीको बहावमा तिम्रो निरन्तरता
फेर आफैँले
समाजको जीर्ण बनेको इतिहास
तिमी कमजोर छैनौ–
आफैँले लेखी हेर
इतिहासको पानामा तिमी जस्तै
युग डो¥याउने चेलीको
जीवनगाथा
बनाउ अदम्य इतिहास
टेक स्वतन्त्रताका पाइलाहरू
त्यसैले–
मजस्तै गरी ज्वालामुखी बनी
तातो र रातो भएर निस्क
यो पृथ्वीको छाती चिरेर आकाश छुन
अनि बगाइदेऊ खोक्रा ती आरोपित किंवदन्तीहरू ।