• १६ चैत २०८०, शुक्रबार

बाल न्यायप्रति गम्भीर बन्न आग्रह

blog

इनरुवा, असार २७ गते । सुनसरीका सरोकारवालाहरूले बाल न्यायका बारेमा जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । जिल्ला बाल न्याय समिति सुनसरीले आयोजना गरेको नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको भूमिका विषयक एक दिवशीय अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले बाल न्याय तथा बालबालिकाको सर्वोत्तम हितका लागि गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले बाल न्यायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै बालबालिकालाई उनीहरूको गाँस, बास र कपाससहित शिक्षा, स्वास्थ्य र पहिचानका लागि जन्म दर्तादेखि नागरिकतासम्म सहज बनाउनुपर्ने बताउनुभयो । चौधरीले बालबालिकाको सर्वोत्तम हित नभएसम्म बाल न्याय नहुने र बाल बिज्याइँमा परेकालाई पनि बालमैत्री वातावरणमा बाल न्याय निरुपण गर्नुपर्नेमा जोड दिनुभयो ।  

उक्त कार्यक्रमका जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीले सरकारले बालबालिकाको हितमा काम गर्नका लागि विभिन्न ऐन, कानुन र नियमावली ल्याएको बताउनुभयो । उहाँले सोही विषयमा जानकारी दिने र थप बाल न्यायलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । जिल्ला अदालतमा आएका मुद्दामा बाल न्यायका पक्षमा गम्भीर रहेको बताउनुहुँदै सुवेदीले मुद्दाको अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी एकाइहरूले कानुनको सीमाभित्र रहेर काम गरेको खण्डमा बाल न्यायका सवाल थप प्रभावकारी हुने बताउनुभयो ।  

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता एकराज अधिकारीले बाल न्यायको सवाल सबैको सरोकारको विषय भएकाले यसमा सहयोग गर्न अनुरोध गर्दै बाल न्याय तथा बालअधिकारका बारेमा स्थापित विभिन्न सङ्घ, संस्था, ऐन–कानुनको बारेमा पनि जानकारी दिनुभयो । सुनसरी जिल्ला अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार बालबालिकाले कसुरजन्य कार्य गरेको सूचना पाएमा अनुसन्धान अधिकारीले अनुसन्धान कार्यको प्रारम्भ गर्ने कानुनी व्यवस्था र बाल न्यायको समग्र सवालमा केन्द्रीय बाल न्याय समितिको सचिवालयको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा इनरुवा न्यायिक समितिका संयोजक तथा उपप्रमुख विनीताकुमारी मेहताले बालबालिकाले कसुर गर्नुको कारण पहिचान गरी पुनस्र्थापकीय न्यायमा जोड दिनुपर्ने बताउनुभयो ।