केही सहयात्री मिलेर भारतको द्वारका, रामेश्वरम्, जगन्नाथपुरीसहित तीन धामको दर्शन गर्न २०७९ पुस २२ गते त्यसतर्फ लाग्यौँ । हिन्दुहरूको आस्था र विश्वासको प्रतीकका रूपमा रहेका यी आध्यात्मिक धरोहरको दर्शन, गङ्गासागरमा स्नान गर्ने लक्ष्य थियो । यस क्रममा भारतका विभिन्न स्थानका ११ ज्योतिर्लिङ्गको दर्शन, वाराणसी, उज्जैन, अयोध्या, मथुरा जस्ता हिन्दुहरूका आस्था र विश्वासको केन्द्रका रूपमा रहेका पौराणिक, सांस्कृतिक र आध्यात्मिक महत्वका सहरको अवलोकन गर्ने भ्रमण दलको अर्को उद्देश्य थियो ।
धर्म, संस्कृति, रीतिरिवाजले राजनीतिक, भौगोलिक र कुनै पनि राज्यविशेषको सीमाले छेक्दैन । हाम्रो यात्रा पनि बडो सौहार्द, मर्मस्पर्सी र मित्रवत् हिसाबले सम्पन्न भएको थियो । भारतीय मित्रहरूको अगाध स्नेह, श्रद्धा र सहयोग पाएका कारण यात्रामा किञ्चित् कठिनाइ महसुस गर्नु परेन । त्यसो त आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ, मनकामना आदि देवस्थलमा दर्शन गर्न आउने भारतीय पर्यटकलाई हामी नेपालीले पनि आदरभावले सत्कार गर्दछौँ ।
भारत सरकारले यातायात क्षेत्रमा गरेको अतुलनीय विकासका कारण सबै तीर्थस्थलमा पुग्न सजिलो भएको थियो । त्यहाँका हरेक धार्मिक केन्द्र चुस्त, दुरुस्त र धार्मिक दृष्टिकोणबाट पारदर्शी भएकाले करिब ४५ दिनको धार्मिक यात्रा पूरा गर्न कुनै किसिमको कठिनाइ भएन ।
चालक दलका सदस्यसहित ३५ जना मिलेर काठमाडाैँबाट प्रस्थान गरेको हाम्रो टोली मुग्लिङ, नारायणगढ हुँदै साँझ वीरगन्ज पुग्यो । भोलिपल्टबाट भारतको विहार प्रान्तस्थित हरिहर क्षेत्र, पुनपुन आदि गरिएका धार्मिक स्थलको दर्शन सक्यौँ । त्यसपछि अन्य प्रान्तका प्रमुख तीर्थस्थल, धाम, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्वका सहरको अवलोकनमा अघि बढ्यौँ । यात्राका क्रममा भगवान् भोले शङ्करका महाकालेश्वर, त्रैम्बकेश्वर, मल्लिकार्जुन, ओमकारेश्वर, बैजनाथ, भीमाशङ्कर, रामेश्वर, नागेश्वर, विश्वनाथ, ग्रिश्मेवर, अम्लेश्वर नामले प्रख्यात ११ ज्योतिर्लिङ्गको दर्शन ग¥यौँ । भारतका कुना कुनामा फैलिएर रहेका ५१ शक्तिपीठ, १२ ज्योतिर्लिङ्ग, धार्मिक, पौराणिक र आध्यात्मिक महत्व बोकेका हरिद्वार, काशी, भेटद्वारिका आदि प्रसिद्ध सात सहर र चारधामको एकै प्रयासमा अवलोकन र दर्शन गर्न कठिन पर्दछ । उत्तर प्रदेशको हिमाली खण्डमा पर्ने केदारनाथ धामको दर्शन गर्न गृष्म वा वर्षा ऋतु कुर्नु पर्दछ । पश्चिम बङ्गालको गङ्गासागरमा श्राद्ध, स्नान तर्पणपश्चात् कोलकातास्थित प्रसिद्ध कालीको दर्शन गरेर कपिलमुनिको आश्रम पुग्ने लक्ष्य राखेर हामीले यात्रा अघि बढायौँ । यसै मेसोमा भगवान् बुद्धले बोधिसत्व प्राप्त गरेको ठाउँ बुद्ध गयाको अवलोकन पनि गरियो । त्यसपछि क्रमैसँग बाबाधाम, बाँसुकी नागको दर्शन, पहिलो धाममा पर्ने उडिसा प्रान्तको जगन्नाथपुरीको दर्शन पनि गरियो । हिन्दु धर्मका चार धाममध्ये द्वारका, रामेश्वरम् र जगन्नाथपुरी दक्षिण भारततर्फ पर्दछन् । बद्रीनाथधाम उत्तराखण्डको हिमालयमा पर्ने हुँदा जाडो याममा हाम्रो टोली त्यहाँ पुग्न सकेन । विहार, झारखण्ड, पश्चिम बङ्गाल, आन्ध्र प्रदेश, तामिलनाडु, कर्णाटक, महाराष्ट्र, मध्यप्रदेश, गुजरात, राजस्थान र अन्त्यमा उत्तरप्रदेशका विभिन्न देवस्थल, शक्तिपीठ, सागर, नदी र तलाउको अवलोकन गर्नमै हाम्रो समय व्यतित भयो । तीर्थाटनका क्रममा जहाँ जहाँ पुग्थ्यौँ त्यहाँ हाम्रो बास प्रायः जसो धर्मशाला र सार्वजनिक स्थलमा भएको थियो । मित्रराष्ट्र भारतका सहिष्णु, सहृदयी र हिन्दु धर्मप्रति अगाध आस्था राख्ने नागरिक समाजको सहयोगले हाम्रो यात्रा सफल बनेको थियो ।
भारतका प्रमुख मन्दिरमध्ये आन्ध्र प्रदेशको तिरुपति बालाजी, तामिलनाडुको कन्याकुमारी, रामेश्वरम् ज्योतिर्लिङ्ग र काशीको विश्वनाथ दर्शन यो पङ्क्तिकारका लागि उल्लेखनीय रह्यो । तिरुपति बालाजीको दर्शनार्थ सदैव ठुलो सङ्ख्यामा भक्तजनको ओइरो लाग्ने हुँदा एकत्रित भेटी, दान, दातव्यका कारण बालाजी भगवान्को मन्दिर भारतकै धनी मन्दिरमध्येको एक मानिन्छ ।
जीवनमा धारण गर्न योग्य वस्तुलाई धर्म भनिन्छ । धर्मले मानिसमा आत्मसंयम्, आत्मानुशासन र स्वविवेकको बीजारोपण गर्दछ । हजारौँहजार सालदेखि अस्तित्वमा रहेको हिन्दु दर्शनमा विश्वास राख्ने हिन्दु धर्मावलम्बीहरू धर्म, कर्म, मोक्ष र अर्थलाई जीवनको मूलमन्त्रका रूपमा लिने गर्दछन् । यस धर्मका अनुयायीहरू संसारका प्राणी मात्रको सर्वोपरि हितलाई आफ्नो सारभूत मान्यताका रूपमा लिन्छन् । हिन्दु दर्शन सहिष्णुता, सदाचार र सद्भावको पर्याय हो ।
वैतरणी, सरयू आदि गरिएका पौराणिक नदीहरूमा स्नान, मल्लिकार्जुन ज्योतिर्लिङ्गको दर्शन, साइबाबाको मन्दिर अवलोकन गर्दाको र बाटामा देखिने लहलहाउँदा अन्नबालीको दृश्यले मोहित पारेको क्षण अविस्मरणीय रहेका छन् । अरूभन्दा पनि रामेश्वरम् धामस्थित २२ कुण्डमा पालैपालो नुहाउँदाको आनन्द कहिल्यै बिर्सन सकिन्न । रामेश्वरम्बाट श्रीलङ्का पुगेर सीतामाताको उद्धार गर्नका लागि भगवान् रामले समुद्रमाथि बनाएको ढुङ्गाको पुलको अवशेष अझै देखिन्छ । त्यहाँका ढुङ्गाहरू पानीमा हाल्दा नडुब्ने रहेछन् ।
मित्रराष्ट्र भारतको उत्तर प्रदेशस्थित इलाहबादको गङ्गा, यमुना र सरस्वती मिलेर बनेको सङ्गम स्थललाई तीर्थराज प्रयाग भनिन्छ । यो ठाउँमा संसारभरका हिन्दु धर्मावलम्बी बाह्रै महिना आएर स्नान गरेर मेला भर्ने गर्दछन् । यसबाट धार्मिक पर्यटनको अभिवृद्धि हुन गई अर्थोपार्जन भएकोले यस क्षेत्रको उन्नतिमा टेवा पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ स्थित सिन्धुखोला, महादेवखोला र अल्लेरीखोला एकै ठाउँमा एकआपसमा जोडिएर बनेको त्रिवेणीघाटलाई तीर्थस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । त्यसो गर्न सकिए भारतको प्रयागको विकल्प बन्न जान्छ । हिन्दु शास्त्रको मान्यता अनुसार तीन नदीको सङ्गममा स्नान, जप, तप र पिण्ड दान गर्नाले ठुलो पुण्य मिल्दछ । सिन्धु उपत्यकास्थित सिद्धेश्वर महादेवको मन्दिरसँग जोडिएको यो त्रिवेणीघाटलाई परिमार्जन गरेको खण्डमा स्वदेश तथा विदेशका तीर्थालुहरू भित्र्याएर आर्थिकोपार्जन गर्न सकिन्छ । वेदमा उल्लेख भए अनुसारको भारतीय भूमि छिचोल्दै लद्दाख, जम्मु काश्मीर, पाकिस्तान भएर अरब सागरमा समाहित हुने सिन्धु नदीको जुन महत्व छ त्यत्तिकै महìव गोसाइँकुण्डको आसपासबाट बहेर आई इन्द्रावती हुँदै कोशी जलप्रवाहसँगै समुद्रमा मिसिने नेपालको सिन्धु नदीको पनि छ । जाने श्रीखण्ड नजाने खुर्पाको बिँड भन्या जस्तो भएकाले यो ठाउँ अझै ओझेलमा परेको छ । सिन्धु नदी र पाल्चोक भगवतीको नाम मिलाएर जिल्लाकै नामकरण गरिएकोबाट पनि यस नदीको महìव स्वतः सिद्ध हुन्छ । यस अलावा शिवपुरी पर्वत शृङ्खलाबाट बहेर आउने महादेवखोला र सिन्धुबेँसीको उपल्लो भाग धवलेश्वर लेकबाट बहेर आउने अल्लेरीखोलाको पनि आफ्नै महìव छ । काठमाडाँैबाट करिब दृई घण्टामा पुग्न सकिने यो ठाउँलाई नेपालको प्रयागका रूपमा परिणत गर्न सकिन्न ?