• १३ साउन २०८१, आइतबार

मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल

blog

छविलाल पाण्डे 

बुटवल, असार २५ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको बताउनुभयो । पाँचदलीय गठबन्धन समयको आवश्यकता र माग हो भन्दै अहिले पनि गठबन्धनको औचित्य र आवश्यकता रहेको उहाँले बताउनुभयो । 

आगामी दिनमा गठबन्धनलाई अझै बलियो बनाउँदै लोकतन्त्र, गणतन्त्रलाई अझै संस्थागत र बलियो बनाउने दिशामा काम गर्नुपर्ने उहाँको भनाइ छ । समाजवादीबाट मन्त्री भएका नेतालाई लक्षित गर्दै अध्यक्ष नेपालले जनताको हित, जनताको दुःखसुखमा जनताकै साथमा रहेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी)बाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो– “हाम्रा मन्त्रीहरुले राम्रो गर्नुपर्छ, जनताको बीचमा रहेर उनीहरुको सेवा गर्नुपर्छ । हाम्रा मन्त्रीहरुको शिर झुक्नुहुँदैन ।”  लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरु सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।