राधा लुइटेल
फिदिम, मङ्सिर २५ गते । पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन गरेको तथ्याङ्कमा सो घटना अभिलेखिकरण भएका हुन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा फिदिममा आयोजित कार्यक्रममा वर्ष भरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
‘दिवससँगै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सोही कार्यक्रममा प्रश्तुत तथ्याङ्क अनुसार सन २०२५ को जनवरी एकदेखि डिसेम्वर १ सम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका २३ वटा घटना भएका देखाइएको हो ।
२३ मध्ये बाल अधिकारविरुद्धका ४, भौतिक संरचनाको क्षति १, हत्या ४, धम्की १ र महिला अधिकारविरुद्धका ११ वटा घटना भएको इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगूले जानकारी दिनुभयो ।
महिला अधिकारकाविरुद्धका ११ मध्ये बलात्कारका ७ र यौन दुर्व्यवहारका २ घटना, विद्युतीय अपराधको १, घरेलु हिंसाको १ र परिवारका सदस्यबाट हत्याका ३ वटा घटना भएका छन् ।
मानव अधिकार दिवसका सन्दर्भमा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न सरोकारवालाले खेल्नु पर्ने भूमिकाका विषयमा चर्चा गरिएको थियो ।