• २५ मङ्सिर २०८२, बिहिबार

पढ्दै कमाउँदै अभियानमा विद्यार्थी

blog

मेलम्ची नगरपालिका ज्यामिरेस्थित आधारभूत विद्यालयका विद्यार्थी सिप सिक्दै ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, मङ्सिर २५ गते  । मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म १०८ जना विद्यार्थी छन् । “उनीहरू सबैलाई किताबी ज्ञानसँगै व्यावहारिक रूपमा जीवनोपयोगी शिक्षा दिन थालिएको हो,” प्रधानाध्यापक भरतकुमार मल्लले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षकलाई एकै ठाउँमा राखेर निगालोबाट डोको र मकैको खोस्टाबाट चकटी बुन्न सिकाउन थालेपछि छात्रछात्रा उत्साही भएका उहाँले बताउनुभयो ।

स्थानीयस्तरका प्रशिक्षकबाट छात्रछात्रालाई प्रत्येक शुव्रmबार डोको र चकटी बुन्न सिकाइन्छ । स्थानीयस्तरमा उपलब्ध सामग्रीद्वारा डोको चकटी बुन्न सिकाउन थालेपछि अहिले उनीहरूमा सिपको विकास भएको मल्लको भनाइ छ । यस शैक्षिक सत्रदेखि ‘बुक फ्री फ्राइडे’ अन्तर्गत व्यावहारिक ज्ञानलाई जोडेर शिक्षण सिकाइका व्रिmयाकलाप गर्न थालिएको उहाँले बताउनुभएको छ ।

हरेक शुव्रmबार किताब छाडेर व्यावहारिक ज्ञान दिन थालिएपछि समुदाय पनि खुसी भएको शिक्षक अभिभावक सङ्घका सदस्य आइतसिंह तामाङले जानकारी दिनुभयो । शुव्रmबारका दिन छात्रछात्रालाई डोको, चकटीबाहेक करेसाबारीमा तरकारी खेती, नगदेबाली र अन्य बाली लगाउन सिकाइन्छ । जीवनोपयोगी सिप सिकाउँदै विद्यार्थीको अध्ययनमा थप क्षमतामा बढोत्तरी भएको शिक्षिका तारा तामाङले बताउनुभयो । अतिरिक्त शिक्षण सिकाइमा छात्रछात्राले ध्यान लगाएर सिक्न थालेका छन् । 

व्यावहारिक सिपका साथै विद्यार्थीले हरेक महिना ‘गुफा आवाज’ नामक बाल भित्तेपत्रिका प्रकाशन गर्छन् । साहित्यिक रचना सिर्जना, कला सङ्गीत, उद्घोषण, रचनात्मक प्रतियोगिता, करेसाबारी व्यवस्थापन, सरसफाइ जस्ता सामूहिक काम गर्दै आएका छन् । निगालोबाट डोको बुनेर महिनामा तीन/चार हजार रुपियाँ कमाउन थालेको कक्षा ६ मा अध्ययनरत समीर तामाङले बताउनुभयो । कक्षा ५ मा अध्ययनरत मञ्जु तामाङले पनि मकैको खोस्टाबाट चकटी बुनेर आम्दानी लिन थालेको जानकारी दिनुभयो ।