गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर २४ गते । नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गर्नुभएको छ ।
एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सो अभियानको थालनी गर्नुभयो । नेता ज्ञवालीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट जारी अपिल बुझाउँदै मुलुकको राष्ट्रिय राजनीतिक र एमाले महाधिवेशनको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
टोलीमा अभियानमा पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । यस्तै, भक्तपुरको सूर्यविनायक, चाँगुनारायणलगायत पालिकामा पोलिटब्यूरो सदस्य महेश बस्नेत, जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं जिल्ला उपाध्यक्ष किरण थापालगायतले घर घरमा निमन्त्रणा दिन लाग्नुभएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि आजै यो अभियान सुरु भएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रूपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको अपिलमा उल्लेख गरिएकोे छ । पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय भएको बताउनुभयो ।
मङ्सिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले खासगरी बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता र जनसमुदायलाई विशेष रूपमा निम्तो दिने तयारी गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता जुटाउने एमालेले तयारी छ । महाधिवेशनको बन्दसत्र भोलिपल्टदेखि काठमाडौँको भृकुटीण्डपमा हुनेछ । एमालेले राजनीतिक दलका नेतासहित अन्य अतिथिहरुलाई पनि घरदैलोमा गएर निमन्त्रणा हस्तान्तरणको काम गर्दैआएको छ ।