• २५ मङ्सिर २०८२, बिहिबार

रेडप्लस कार्यक्रमलाई आदिबासी र लोपोन्मुख समुदायमा केन्द्रित गर्न सुझाव

blog

डिजिएम नेपालको कार्यक्रममा सहभागी संस्थाका अगुवाहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २४ गते । आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने विषयमा डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम नेपाल) को राष्ट्रिय सञ्चालन समिति (एनएससी) बैठकमा गम्भीर छलफल भएको छ । 

समितिको सहअध्यक्ष नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा डिजिएम नेपालले गर्दैआएको कार्यक्रमलाई परिणाममुखी बनाउन सुझाव दिइएको छ । 

विश्व बैंकले सहयोग गर्दैआएका दिगो वन व्यवस्थापन अन्तर्गतको रेड प्लस कार्यक्रमलाई लक्षित समुदायमा लगेर त्यसको लाभ सोही समुदायमा पुग्नुपर्ने धारणा वक्ताहरुले राख्नुभयो । संस्थाले विश्व बैंक र सरकारको कार्यक्रमसँग सहकार्य गरी कार्यक्रमलाई गुणस्तरीय बनाउनु पर्ने सुझाव दिइएको छ ।  


ग्रीन फाउण्डेशनका अध्यक्ष घनश्याम पण्डेयले कार्यक्रमको लाभ बढीभन्दा बढी ग्रासरुट तहका आदिबासी, दलित र लोपोन्मुख समुदायलाई पुग्न आवश्यक रहेको बताउनुभयो । आयोजनाको कामलाई प्रभावकारी बनाउन एनएससीको निर्णय प्रक्रिया र कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताउनुभयो । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष तथा एनएससीका सहअध्यक्ष ठाकुर भण्डारीले करोडौंको बजेट रहेको रेडप्लस कार्यक्रमलाई तल्लो स्तरका जनताको जनजीविकासँग जोड्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई प्रभावकारी बनाउन सो तहका नागरिकलाई प्रत्यक्ष तथा परोक्ष रुपमा सहभागी गराउन सक्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा डिजिएम नेपालका प्रमुख डा. रत्न कार्कीले आयोजना र बजेटबारे जानकारी गराउनुभयो । अहिलेसम्म डिजिएम नेपालले गरेको कार्यक्रमबारे संक्षेपमा जानकारी गराउँदै उहाँले कार्यक्रमलाई स्थानीय तहका नागरिकसँग जोडेर सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा पनि कार्यक्रम सञ्चालन गर्दा आदिबासी समुदाय, दलित र लोपोन्मुख समुदायलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ । 


डिजिएम नेपालका कार्यक्रम संयोजक साधना लिम्बूले संस्थाको तर्फबाट स्थानीय स्तरमा रहेका आदिबासी समुदाय, दलित र लोपोन्मुख समुदायको सीप बृद्धि, हस्तकला तथा सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । बढीभन्दा बढी स्थानीय तहका नागरिकलाई आयोजनाको कामसँग जोड्ने प्रयास संस्थाले गरिरहेको उहाँले जानकारी दिनुभयो । संस्थाको कार्यक्रम लुम्बिनी र मधेस प्रदेशमा केन्द्रित रहे पनि रेडप्लस कार्यक्रम देशभरि गरिएको उहाँले जानकारी दिनुभयो । 

छलफल कार्यक्रममा प्रकाश थापा, दिवस राई, जोगराज गिरी, अमृत सुनुवार, लक्की चौधरी लगायतले संस्थाको कार्यक्रम आदिबासी समुदाय र अति लोपोन्मुख समुदाय, दलित समुदायमा केन्द्रित गरी परिणाममुखी बनाउन सुझाव दिनुभयो । जल, जंगल, जमिन, जडिबुटीसँग जीवनयापन जोडिएका समुदायलाई कार्यक्रममार्फत क्षमता बृद्धि, हस्तकलासम्बन्धि सीप बढाउनमा केन्द्रित गर्न सुझाव दिनुभयो । डिजिएम नेपालको कार्यक्रमलाई थप प्रभावकारी बनाउन नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकारको क्षमता अभिबृद्धि कार्यक्रम र मिडियाकर्मीको क्षमता अभिबृद्धि कार्यक्रममा जोड दिन वक्ताहरुले सुझाव दिनुभयो । 

डिजिएम नेपालले समुदायस्तरमा हस्तकलाका साम्रीमा ढकिया बुन्ने, फर्निचर, दुनाटपरी बनाउने, सिलाई कटाई, मचिया र मर्चा निर्माण, अचार, फलफूलखेती, मुढा निर्माण, मौरीपालन, बाँस र बेतबाट निर्माण गरिने सामग्रीबारेको सीप प्रदान गर्ने लगायतमा कार्यक्रम गर्दैआएको छ । संस्थाले दिगो वन व्यवस्थापनमा कार्वन उत्सर्जन न्यूनीकरण, लाभांस वितरण बारेमा समेत कार्यक्रम सञ्चालन गर्दैआएको छ ।