• २४ मङ्सिर २०८२, बुधबार

कविता लेखन प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

blog

काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन प्रतियोगिताका विजयी ।

गोरखापत्र समाचारदाता 

कठमाडौँ, मङ्सिर २४ गते । प्रभात माध्यमिक विद्यालय,नःघको हीरक जयन्तीको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ । सो विद्यालय र ब्रह्मानन्द–चन्द्रमाया वैद्य स्मृति कोषद्वारा आयोजित कविता प्रतियोगितामा वाचनका लागि चयन भएका विभिन्न विद्यालयका १४ बाल कविहरूले रचना वाचन गर्नुभयो । 

कर्यक्रमका प्रमुख अतिथि कला, सङ्गीत अन्वेषक तथा साहित्यकार प्रकाश सायमीले बालबालिका नै भोलिका सशक्त कवि तथा कलाकार हुने भएकाले यस्ता कार्यक्रमले प्रतिभाको खोजि तथा जगेर्ना गर्छ भन्नुभयो । 


ब्रह्मानन्द–चन्द्रमाया वैद्य स्मृति प्रतिष्ठनका अध्यक्ष रमेशानन्द वैद्यले विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि ब्रह्मानन्द–चन्द्रमाया वैद्यको स्मृतिमा कोष स्थापना गरी कविता प्रतियोगिता लगायतका रचनात्मक कार्य गरिएको बताउनुभयो । 

साहित्यकार डा. गीता त्रिपाठीले बालकालिकालाई सिर्जनशील कार्यमा लगाइरहन अतिरिक्त क्रियाकलापको आवश्यकतामा जोड दिनुभयो । निर्णायक मण्डलका सदस्य साहित्यकार डा. छायादत्त न्यौपानेले प्रतियोगी बाल सर्जकमा सिर्जनाको प्रचुर सम्भावना छ भन्नुभयो भने अर्का सदस्य कवि शान्ति सापकोटाले सिर्जनात्मक लेखनलाई विद्यालय तथा परिवारले उचित वातावरण दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

मधुपर्कका नि. सम्पादक त्रिभुवनचन्द्र वाग्लेले विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि ब्रह्मानन्द–चन्द्रमाया वैद्यका परिवार तथा शुभ चिन्तकले कोष खडा गरी यस प्रकारका रचनात्मक कार्य गर्नु प्रशंसनीय छ भन्नुभयो । 

प्रतियोगितामा सरस्वती निकेतन माविका छात्र विपिन्द्र तोलाङ्गी प्रथम, पञ्चकन्या माविकी छात्रा सन्ध्या थापा द्वितीय र शान्ति विद्यागृहकी छात्रा प्रेमकला परियार तृतीय हुनुभएको छ । 

यसैगरी, नेपाल युवक माविकी छात्रा कुशुम हुमागाईं र जुद्धोदय माविकी छात्रा स्वस्तिका लामाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।