• २४ मङ्सिर २०८२, बुधबार

मनाङमा एक हजार दुई सय क्विन्टल बढी खाद्यान्न सहुलियत दरमा वितरण

blog

मनाङको कोतोबाट खच्चडमार्फत नार्पाभूमिका लागि खाद्यान्न ढुवानी गरिँदै । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर २४ गते । खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१-८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई विस्तार गरेको छ । 

कार्यालयको विवरण अनुसार हालसम्म १ हजार २ सय क्विन्टलभन्दा बढी खाद्यान्न सहुलियत दरमा बिक्रीवितरण गरिएको र १ हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका कार्यालयले जनाएको छ । 

डिपो तथा बिक्री केन्द्रमार्फत अरुवा सोना मन्सुली, एफआर स्टिम, जिरा मसिनो, स्टिम जिरा मसिनो, बास्मतीलगायत पाँच प्रकारका चामल उपलब्ध गराइएको डिपो कार्यालय मनाङका प्रमुख रामाशङ्कर कुशवाहाले बताउनुभयो । त्यस्तै केराउ दाल, मास दाल, चिनी, तोरीको तेल र खुर्सानी तेलसमेत नियमित रूपमा बिक्री गरिएको छ । गैरखाद्यतर्फ लुगा धुने साबुन, आयोडिन नुन, धूप, अगरबत्ती, म्याच बत्ती, सर्फ, फिनेल, ह्यान्डवास र स्यानिटाइजरलगायत सामग्री उपलब्ध छन् । खाद्य तथा गैरखाद्य गरी २५ भन्दा बढी वस्तु उपभोक्ताको पहुँचमा पुगेको प्रमुख कुशवाहाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मनाङ जिल्लाभर १,२३२ क्विन्टल खाद्यान्न बिक्री वितरण भएको छ । सरकारले तोकेको सहुलियत कोटाअन्तर्गत लाखौं रुपियाँ बराबरको छुट रकम उपभोक्तालाई प्रदान गरिएको छ । गत आर्थिक वर्षसम्म २०० क्विन्टल रहेको सहुलियत कोटा यस वर्ष बढेर १,०८० क्विन्टल पुगेको छ । हालसम्म पनि खाद्यान्न छुट दरमै बिक्री भइरहेको कार्यालयले बताएको छ ।

मनाङको विकट भौगोलिक अवस्थाले ढुवानी चुनौतीपूर्ण भए पनि डिपो कार्यालयले वैकल्पिक व्यवस्था अपनाई सडक पहुँच नपुगेका बस्तीमा खच्चडमार्फत खाद्यान्न ढुवानी गरिएको जनाएको छ । डिपो तथा बिक्री केन्द्रहरूमा चामलसहित दाल, तेल र चिनी नियमित रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

डिपो कार्यालय प्रमुख कुशवाहाले सेवाग्राहीमैत्री सेवालाई प्राथमिकतामा राखिएको बताउनुभयो । “दुर्गम जिल्लामा खाद्य अभाव हुन नदिन बिहानदेखि साँझसम्म सेवा दिइरहेका छौं,” उहाँले भन्नुभयो, “शनिबार, सार्वजनिक बिदा तथा चाडपर्वमा पनि कार्यालय खुला राखिएको छ ।”

एक्लो स्थायी कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको डिपो कार्यालयले सीमित स्रोतसाधनबिच पनि सेवा निरन्तरता दिएको उहाँको भनाइ छ । कुशवाहाका अनुसार हिमाली जिल्लाका नागरिकले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच नार्पाभूमि खरिद-बिक्री केन्द्रमा कार्तिक महिनाको अन्तिम हप्तादेखि खाद्यान्न आपूर्ति सुरु गरिएको छ । हालसम्म ८२.५० क्विन्टल चामल केन्द्रमा पुर्‍याई बिक्री भइसकेको छ । हालै थप ४२.२५ क्विन्टल खाद्यान्न कोतोबाट खच्चडमार्फत ढुवानी भइरहेको छ । ढुवानी हुँदै गरेको खाद्यान्नमा अरुवा सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल तथा चिनी रहेको छ । दुर्गम भौगोलिक अवस्थाका बाबजुद स्थानीय उपभोक्ताको आवश्यकता पूरा गर्न नियमित आपूर्ति व्यवस्थापनमा कार्यालय जुटिरहेको छ ।