लिलाधर वली
घोराही, मङ्सिर २४ गते । खुला महिला म्याराथन प्रतियोगितामा निरमाया चौधरी प्रथम हुनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका क्रममा बुधबार राप्ती गाउँपालिकामा आयोजना गरिएको खुला महिला म्याराथन प्रतियोगितामा चार किलो मिटर दुरी १७ मिनेट ५० सेकेन्डमा पार गर्दै चौधरीले प्रथम स्थान हासिल गर्नुभएको हो ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनुभएकी चौधरीले नगद १४ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रतियोगितामा १८ मिनेट ५ सेकेन्डमा दुरी पार गर्दै रिमा चौधरी द्वितीय र १८ मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै अन्जु सार्की तृतीय हुनुभएको छ । प्रतियोगितामा द्वितीय हुने चौधरीले १२ हजार र तृतीय स्थान प्राप्त गर्ने सार्कीले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिता राप्ती गाउँपालिका–७, मिलनचोकदेखि वडा नम्बर ३ वसन्तापुरसम्म करिब ४ किलोमिटर दूरीमा सञ्चालन भएको थियो । प्रतियोगितामा ७६ जना महिलाले प्रतिस्पर्धा गर्नुभएको थियो ।
प्रतियोगिताका विजेतालाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले महिला सशक्तीकरण, शारीरिक तन्दुरुस्ती तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
उपाध्यक्ष चौधरीले १६ दिने अभियानअन्तर्गत सञ्चालन गरिएको म्याराथनले सकारात्मक सन्देशसँगै खेलकुदका क्षेत्रमा महिलालाई अघि बढ्नका लागि उर्जा प्रदान गर्ने बताउनुभयो । लैङ्गिक हिंसा न्यूनीकरणका लागि सामुहिक प्रयास आवश्यक रहेको भन्दै उहाँले सचेतनाविना लैङ्गिक हिंसा न्यूनीकरण हुन नसक्ने बताउनुभएको थियो ।