शेरबहादुर सार्की
बाजुरा, मङ्सिर २४ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बावासी भने पुस्तौंदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका हुन् ।
गुम्बामा झण्डै ६५ जनजातिको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गर्दछन् । जिल्ला सदरमुकाम मार्तडीदेखि झण्डै दुईसय किलोमिटरको दूरीमा रहेको यो गुम्बा जिल्लामै दुर्गम गाउँ हो ।
२०७६ साल पालिकाले यहाँका स्थानीयलाई केही सहज हुनेगरी घोरेटो बाटोको निर्माण गरिएको थियो । त्यो बाटोले अहिले यहाँका स्थानीयलाई गुम्बादेखि पालिकासम्म आउजाउमा सहज गरेको छ ।
योभन्दा पहिला गुम्बाको मुनि एक ठुलो भिर भएकाले त्यसमा आउजाउ गर्न समस्या हुनेगरेको थियो । यही अफठ्यारो बाटोको कारण प्रायः यहाँ जोकोही आउजाउ गर्न सक्दैनथे ।
यहाँका स्थानीयहरुको यही समस्यालाई दृष्टिगत गर्दै स्थानीय सकारले २०७६ सालमा पालिकाको आर्थिक सहयोगबाट गोरेटो बाटो निर्माण गरेको छ । जिल्ला सदरमुकाम मार्तडीदेखि दुईसय र पालिकादेखि झण्डै १५० किलोमिटरको दूरीमा पर्छ गुम्बा । यो पर्यटकीय स्थलको रुपमा पनि छ । यहाँ हरेक वर्ष देशभरबाट लामाहरु आएर बस्ने गर्छन् ।
यो गाउँ अझै सडक सुविधाबाट वञ्चित हुँदैआएको हिमाली गाउँपालिका –३ स्थानीय नरी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नहुँदा गाउँदेखि पालिकासम्म आउजाउ गर्न समस्या छ । पहिला गोरेटो बाटो थिएन । गुम्बादेखि पालिकासम्म जाने एक ठाउँमा ठुलो पहाड थियो । त्यसमा हामीले बाबियाको लठ्ठाको सहाराले जाने गर्थ्याैं ।”
गत आर्थिक वर्ष झण्डै पाँच करोड रुपियाँ सङ्घीय सरकारबाट विनियोजन गरेको थियो । तर यो सरकारले त्यो रकम रोकिएपछि अहिले फेरि यहाँका स्थानीय सडकको सञ्जालबाट वञ्चित भएको हिमाली गाउँपालिका –३ का वडा अध्यक्ष मङ्गल बुढाले बताउनुभयो ।
टेलिफोन सुविधाबाट पनि वञ्चित
हिमाली गाउँपालिकाको वडा –३ का गुम्बावासी पछिल्लो समय टेलिफोन सेवा सुविधाबाट समेत वञ्चित हुँदैआएका छन् । जिल्लाका अन्य गाउँ बस्तीमा २०६४ सालदेखि २०८२ सम्म टेलिफोन इन्टरनेट सेवा सुविधामा भएको भए पनि यहाँका गुम्बा गाउँमा अझै टेलिफोन सेवा छैन ।
यहाँका स्थानीयवासी पुस्तौंदेखि अहिलेसम्म टेलिफोन सेवाबाट वञ्चित हुँदैआएका छन् । यहाँका स्थानीयले टेलिफोन सेवा सुविधाका लागि धेरै पटक माग गर्दैआएको भए पनि अहिलेसम्म उनीहरुको त्यो माग पूरा भएको छैन ।
हिमाली गाउँपालिका –३ स्थानीय जसबहादुर भण्डारीले भन्नुभयो, “अहिले हाम्रो गाउँमा न टेलिफोन, न सडक न विद्युत् छ । देशले नयाँ अनुहार फेर्दैगएको छ । हाम्रो अवस्थामा भने केही परिवर्तन भएको छैन। अहिले हामी पुरानै मोडेलमा झरो र टुक्कीको भरमा रात काटिरहेका छौं ।”
विद्युत् सेवाबाट वञ्चित
बाजुराको हिमाली गाउँपालिका –३ गुम्बाबासी विद्युत् सेवाबाट पनि वञ्चित हुँदै आएका छन् । यहाँका ६५ जना जनजाति परिवार पुस्तौंदेखि अहिलेसम्म झरो र टुकीको भरमा रात काट्न बाध्य हुँदै आएका छन् ।
यहाँका अन्य गाउँ बस्तीमा २०७८ सालमा विच्छ्या खोलामा उत्पादन गरेको विद्युतले गाउँमा बत्ती बलेको थियो । गत साउनमा आएको बाढीले विद्युतको नहर बगाएपछि अहिले ती गाउँ उज्यालोबाट वञ्चित भएको छ ।
गुम्बा जिल्लाकै एक दुर्गम गाउँमा पर्छ । यहाँ सडक पुर्याउन पालिकाको रकमबाट सम्भव छैन । गत वर्षमा सरकारले यहाँ सडक पुर्याउनका लागि झण्डै पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । अहिलेको सरकारले त्यो रकम रोकिदिएपछि अहिले यहाँका स्थानीय सडक सुविधाबाट वञ्चित भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।