नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ । मङ्गलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना आकाङ्क्षीको नाम सिफारिस गरिएको हो ।
बैठकमा आकाङ्क्षीलाई आफ्नो उम्मेदवारी दर्ताका लागि आह्वान गरिएको थियो । सोही अनुसार प्रत्यक्षमा १० जना समानुपातीकमा चार जना र राष्ट्रिय सभामा तीन जनाको नाम दर्ता भएको थियो ।
दर्ता भएको सबैको नामावली जिल्ला कार्यसमिति मार्फत केन्द्रीय समितिमा पठाइने क्षेत्रीय सभापती जोकलाल बुढा मगरले जानकारी दिनुभयो । प्रत्यक्ष तर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन निरज, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा ऋषिराम कंडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहेका छन् ।
सिफारिस भएका अर्जुन शेरचन कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन भने कांग्रेस गण्डकी प्रदेश सदस्य समेत हुनुहुन्छ भने उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा पराजित हुनुभएको थियोे ।
त्यसैगरी, टेकराज पौडेल हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँको राजनीति नेपाल विद्यार्थी सङ्घदेखि नेपाल तरुणदल हुँदै १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी रहेका छन् । नरबहादुर पुन निरज पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने उहाँ संविधान सभा सदस्य पनि हुनुहुन्छ ।
पुन २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवार समेत हुनुहुन्थ्यो । सिफारिस भएका मञ्जेशबम मल्ल हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । मल्लको २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ प्रतिनिधि सभा (क) को प्रदेशसभा सदस्यको उम्मेदवार रहेको थियोे । बाम गठबन्धनका कारण मल्ल पराजित भएका थिए ।
यसैगरी, गीता श्रीष, ऋषिराम कंडेल देवेन्द्र बहादुर घर्ति पनि हाल महाधिवेशन प्रतिनिधि रहेका छन् भने डण्डपाणी कंडेल पूर्व महासमिति सदस्य हुन् । सिफारिस भएका धुव्र गौतम, डिलाराम शर्मा पूर्व महाधिवेशन प्रतिनिधि सिफारिस भएका १० जनाले नै आफुले पार्टीमा निरन्तर दुःख गरेको र सोही अनुसार मूल्याङ्कन गरी पार्टीले उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, मायाँ केसी र भिमु क्षेत्री सिफारिस हुनुभएको हो । काउचा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन भने उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियोे । त्यसै, उहाँ नेपाल महिला सङ्घको केन्द्रीय सदस्य हुँदै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवारको सूचिमा रहनुभएको थियोे । त्यस्तै सागर छन्त्याल नेपाली कांग्रेस बागलुङका उपसभापति हुनुहुन्छ भने मायाकुमारी केसी जिल्ला सदस्य हुनुहुन्छ ।
समानुपातिकमा नै सिफारिस भएकी भिमु क्षेत्री कांग्रेस क्षेत्रीय सदस्य रहेको सभापती बुढा मगरले जानकारी दिनुभयो । यस क्षेत्रबाट राष्ट्रिय सभाका लागि पनि चार जनाको नाम सिफारिस गरिएको छ । जसमा वरिष्ठ अधिवक्ता रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने र मेशलाल शर्मालाई सिफारिस गरिएको छ । आचार्य र न्यौपाने पूर्व महासमिति सदस्य हुनुहुन्छ भने शर्मा प्रदेश (ख) का क्षेत्रीय सभापति समेत हुनुहुन्छ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार क्षेत्रीय समितिले आकाङ्क्षीहरूलाई उम्मेदवारी दर्ताका लागि आह्वान गरेको थियो । सोही अनुसार दर्ता हुन आएको सबैको नामवाली केन्द्रमा पठाउने सभापति बुढाले जानकारी दिनुभयो ।