राजन रावत
हुम्ला, मङ्सिर २४ गते । जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको सरस्वती माविले गत भदौबाट लगातार शिक्षक भर्नाका लागि विज्ञापन गर्दा कसैबाट पनि निवेदन पेश नगरिएको हो ।
गत भदौमा १५ दिनको अवधि राखेर सुरु गरिएको शिक्षक भर्नाका लागि गरिएको विज्ञापनमा कसैको पनि निवेदन नपरेका कारण त्यसपछि पनि एक हप्ताको समयावधि राखेर चार पटक विज्ञापन गरएको थियो । यस समयमा पनि कसैको निवेदन नपरेको विद्यालयका प्रधानाध्यापक जयत्रहादुर धामीले बताउनुभयो ।
सङ्घीय अनुदानमा विज्ञान र गणित शिक्षक भर्नाका लागि सर्केगार्ड गाउँपालिकाले बजेटको व्यवस्था गरेको थियो । अघिल्लो चार पटक गरिएको विज्ञापनमा निवेदन मात्र नआएर फोन पनि नआएको बताउँदै उहाँले यो पछिल्लो पाँचौँ पटकको विज्ञापनमा भने दुई जनाले फोन गरेको भए पनि सम्पर्कमा नआएको बताउनुभयो । सो अनुदानमा माविको शिक्षकका लागि तलब स्केल मात्र व्यवस्था गरिएको थियो । चार पटठक विज्ञापन गर्दा कसैको निवेदन नपरेपछि अभिभावक भेलामा वडा अध्यक्षलाई समेत उपस्थिति गराएर स्थानीय भत्ता वडाले व्यहोर्ने प्रतिबद्धता जनाएको विज्ञापन गर्दा पनि कसैको निवेदन नपरेको उहाँले बताउनुभयो ।
दुर्गम र तलब स्केल मात्र व्यवस्था भएका कारण शिक्षक भर्नामा समस्या आएको छ । जिल्लामा विज्ञान विषयका शिक्षक लाइसेन्स भएका जनशक्ति नभएको र बाहिरकाले न्यून पारिश्रमिक भएका कारण आउन नमानेको उहाँले बताउनुभयो । शिक्षक भर्ना गर्न नसकिएपछि कक्षा आठदेखि दससम्म पठनपाठनमामा समस्या आउने गरेको छ ।