• २४ मङ्सिर २०८२, बुधबार

प्रतिनिधिसभा निर्वाचन : धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै मोरङ कांग्रेस

blog

हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर २४ गते ।
नेपाली कांग्रेसले मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।

नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शङ्कर राईका अनुसार मोरङ–१ बाट प्रत्यक्षतर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति  डिगबहादुर लिम्बू, कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्गबहादुर फागो र पूर्व महासमिति सदस्य दिव्या बस्नेतको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका लागि ललित अधिकारीको नाम सिफारिस गरिएको छ ।

मोरङ २ का क्षेत्रीय सचिव भुलबहादुर कार्कीका अनुसार प्रत्यक्षतर्फ डा. मीनेन्द्रप्रसाद  रिजाल, शिवनारायण सिंह र नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल पूर्व मन्त्री एवम् पार्टीको केन्द्रीय सदस्य, सिंह कोशी प्रदेशसभाका निवर्तमान सांसद हुनुहुन्छ भने पण्डित पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घको क्षेत्रीय सभापति हुनुहुन्छ । मोरङ २ बाट समानुपातिकतर्फ सुजाता कोइराला र गोपालामानसिंह राजभण्डारीको नाम सिफारिस गरिएको छ ।

मोरङ ३ का सचिव राजेन्द्रबहादुर अधिकारीका अनुसार प्रत्यक्षतर्फ निवर्तमान सांसद एवम् महासमिति सदस्य डा. सुनीलकुमार शर्माको नाम मात्र सिफारिस भएको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रियसभाका लागि पाँच जनाको नाम सिफारिस भएको सचिव अधिकारीले जानकारी दिनुभयो ।  

मोरङ ४ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री  महेश आचार्य, पूर्व राज्यमन्त्री दिलीपकुमार गच्छदार, नेविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेतको नाम सिफारिस गरिएको छ । मोरङ ४ बाट सिफारिस भएका नेतामा विनोद बस्नेत बाहेक सबै पुराना नेता हुनुहुन्छ । यद्यपि घिमिरेले हालसम्म चुनाव जित्नुभएको छैन ।

यस्तै, मोरङ ५बाट प्रत्यक्षतर्फ चार जना नयाँ अनुहारको नाम सिफारिस भएको छ । पूर्व आमन्त्रित केन्द्रीय सदस्य  हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका पूर्व प्रशिक्षण विभाग प्रमुख फूलकुमार लालवानी र फैयाज रैनको नाम सिफारिस गरिएको छ । मोरङ–५ मा सामानुपातिकतर्फका उम्मेदवार छनोटको काम अझै टुङ्गो लागेको छैन । कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले भन्नुभयो, ‘‘प्रत्यक्षतर्फ अझै पनि सहमति जुटाएर दुई जनाको मात्र सिफारिस गर्ने तयारी भइरहेको छ ।’’

मोरङ ६ बाट प्रत्यक्षतर्फ डा.शेखर कोइरालाको नाम मात्र सिफारिस गरिएको छ । समानुपातिकतर्फ रमेशजङ्ग रायमाझी, डा. डिला सङ्ग्रौला, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता घिमिरे र सरिता राना मगरको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले मङ्सिर २५ गते बस्ने जिल्ला समितिको बैठकले नामहरू माथि छलफल गरी कोशी प्रदेश समितिमा पठाउने बताउनुभयो ।

कोशी प्रदेश सभापति उद्धव थापाले मङ्सिर २७ गते प्रदेश समितिको बैठक बसेर २८ गते केन्द्रीय समितिमा नाम पठाउने जानकारी दिनुभयो ।