ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २४ गते । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो ।
चन्दादाताबाट सङ्कलन भएको १४ लाख २५ हजार र बेनी नगरपालिकाबाट ६ लाख गरी २० लाख २५ हजार रुपियाँमा मन्दिरको पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।
उहाँका अनुसार वि.स १९८१ मा स्व. मोतीकुमार श्रेष्ठले करीब एक रोपनी जग्गा गुठी कायम गरी मन्दिर निर्माण गर्नुभएको थियो । श्रेष्ठका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारी र वडा नम्बर ८ को कार्यालयसँग समझदारी गरी चन्दा सहयोग र नगरपालिकाको बजेटबाट मन्दिरको जीर्णोद्धार गरिएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।
मन्दिर पुनर्निर्माण गरिएपछि भजनकीर्तन र पूजाआराधनासहित मन्दिरमा गणेश भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ । बेनीको धार्मिक पहिचानलाई संरक्षण गर्न मन्दिरलाई जीर्णोद्धार गरिएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।