नवलपुर समाचारदाता
नवलपुर, मङ्सिर २४ गते । नवलपुरको कावासोती नगरपालिका–४, हसौराका बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
वडाध्यक्ष नारायण लोहनीको नेतृत्वमा ठुलो सङ्ख्यामा उपस्थित भएका स्थानीयले १५ दिनभित्र छुट जग्गा दर्ताको प्रक्रिया अघि बढाउन, भूमाफियाका नाममा लुकिछिपी बनाइएका पुर्जाको खारेजी तथा सम्बद्ध व्यक्ति तथा कर्मचारीलाई आवश्यक कारबाही हुनुपर्ने माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । कावासोती नगरपालिका साबिक शिवमन्दिर नक्सा नम्बर ९क, ९ख र ९ग को पटक पटक आफ्नै वा एकाघरको नाममा फिल्डबुक कायम भएको छुट जग्गा दर्ता गराउन अनुरोध गर्दासमेत सुनुवाइ नभएको पीडितको गुनासो छ ।
वडाध्यक्ष लोहनीले प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र मालपोत अधिकृत हरिकृष्ण सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्र नक्साका छुट जग्गा दर्ता नभएमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिनुभयो । जवाफमा प्रजिअ पाण्डे र मालपोत अधिकृत सुवेदीले पीडितका मागलाई गम्भीर रूपमा लिएको बताउँदै थप अध्ययन गरेर निर्णय गरिने बताएको अध्यक्ष लोहनीले जानकारी दिनुभयो ।
जम्मा ८०९ घरधुरी रहेको कावासोती–४, हसौरामा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको लोहनीले बताउनुभयो । उहाँका अनुसार साबिक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेका छन् ।