अबुजा, मङ्सिर २३ गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौँ विद्यार्थी र शिक्षकलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थी उद्धार गरिएको पुष्टि गर्नु भएको छ ।
विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर-२१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिनु भएको छ । यस अघि, सुरक्षा बलले घटनाको केही दिन पछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षक मध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।
“नाइजर राज्यको क्याथोलिक स्कुलबाट १०० जना विद्यार्थी सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटनापछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीले गरेको दृढ कार्यको प्रशंसा गर्दछु” टिनुबुले भन्नुभयो ।
यसैबिच अपहरण गरिएका सबै विद्यार्थीलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकलाई आश्वासन दिनु भएको छ । उहाँले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गर्नु भएको छ ।
उहाँले सबै पीडितको एकिन गरी नाइजेरियाली सरकारले विद्यालय सुरक्षित गर्न र युवाका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाउनु भएको छ । टिनुबुले अबदेखि सुरक्षा एजेन्सीलाई ३६ वटै राज्यका गभर्नरसँग मिलेर भविष्यमा हुने अपहरण रोक्नका लागि रोकथामका उपाय अपनाउन निर्देशन दिनु भएको छ । रासस/सिन्ह्वा