गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । लागु औषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने विविध प्रकारका हिंसा, क्षति न्युनीकरण र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तीन दिने आवासिय प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ ।
नेपाल परिवार नियोजन सङ्घ र दृष्टि नेपालको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत लागु औषध प्रयोगकर्ता महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि लैङ्गिक तथा प्रजनन स्वास्थ्य अधिकार र क्षति न्युनीकरण आवासीय कार्यशालाको आयोजना गरिएको हो ।
नेपाल परिवार नियोजन सङ्घको केन्द्रिय क्लिनिक पुल्चोक र सुनसरी शाखा तथा दृष्टि नेपालका सेवा प्रदायक र सरोकारवालाको सहभागितामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिनुभएको हो । कार्यशालामा सहभागीले लागु औषध प्रयोगकर्ताले भोग्नु परेको स्वास्थ्य चुनौती, यौन तथा प्रजनन स्वास्थ अधिकार क्षति न्युनीकरणका उपाय, सेवा प्रवाहमा आवश्यक संवेदनशीलता तथा भेदभावरहित समुदायमैत्री सेवा प्रदान गर्ने सीपबारे छलफल गर्नु भएको थियो ।
नेपाल परिवार नियोजन सङ्घका अर्थ निर्देशक श्री नवराज ढकालले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले लागु औषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित यस्ता कार्यशाला, तालिम, प्रशिक्षणले समुदायका लागि सुरक्षित, सम्मानजनक सेवा प्रवाह सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना लिम्बूले प्रजनन स्वास्थ्य तथा क्षति न्युनिकरण सेवामा अन्तर-संस्थागत सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै स्वास्थ्य सेवा प्रदायकले लागु औषध प्रयोगकर्ता सेवा ग्राहीले पनि लान्छना र भेदभाव रहित सेवा पाउने हक रहेको बताउनुभयो ।
नेपाल परिवार नियोजन सङ्घका परियोजना संयोजक श्री प्रकाश डङ्गोलका अनुसार, १६ दिने अभियान अन्तर्गत आयोजित आवासीय कार्यशालाले प्रजनन स्वास्थ्य अधिकार र क्षति न्युनीकरणको सवालमा सेवाग्राही सूसुचित हुने अवसर प्रदान गरेको बताउनुभयो ।