नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् ।
उक्तमध्ये ३० मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । सुरक्षा चुनौतीको आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा लमजुङमा ३० मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
त्यसैगरी ७७ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदान स्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाएर गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अति संवेदनशील मतदान स्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन हुने प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताउनुभयो । यसरी वर्गीकरण गरिएका मतदान स्थलहरूमा सुरक्षार्कीको सङ्ख्या कति र कसरी परिचालन गर्ने भन्नेबारे एकीकृत सुरक्षा योजना बनाइएको प्रजिअ पाण्डेले बताउनुभयो ।
गत निर्वाचनमा लमजुङमा १२८ मतदान स्थल रहेका थिए । यसपटक २ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिनुभयो । थपिएका मतदान स्थलमा दोर्दी गाउँपालिका–२, अर्चलबोटको अलैंचे केदार आधारभूत विद्यालय र बेँसीसहर नगरपालिका–१०, पासाचौरको को कालिका आधारभूत विद्यालय स्थल रहेका छन् ।
मतदान स्थल सिफारिस समितिले मर्स्याङ्दी गाउँपालिका–३, थाकनकोे विनायक आधारभूत विद्यालयमा मतदान स्थल थप्न सिफारिस गरेको थियो । तर स्वीकृत भएन् ।
मतदान केन्द्र र स्थलहरूको सूरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्ने छन् । पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी), गुप्तचर, नेपाल प्रहरी खटिने छन् । त्यो भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुने छ । नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।