हरि कोइराला
उर्लाबारी, मङ्सिर २३ गते । मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्रका सामुदायिक विद्यालयले खपत गर्ने विद्युत् महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।नगरका आठ वटा माध्यमिक विद्यालय र २७ वटा आधारभूत विद्यालयको आन्तरिक आम्दानी नभएका कारण विद्युत् महसुल भुक्तानीमा समस्या भएपछि नगरले यो व्यवस्था गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले आठ वटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपियाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४ हजार रुपियाँ राहतस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । नगरका पाँच वटा मावि र एउटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी देखिएकोले ती विद्यालयले यो सुविधा पाएका छैनन् ।
लामो समय माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर सेवा निवृत्त हुनुभएका नागेश्वरप्रसाद सिंह गनगाई हाल नगरको प्रमुख हुनुहुन्छ । उहाँले सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसक्नुको कारण प्रविधि मैत्री बन्न नसकेर भएको बताउनुभयो ।
नगरले विद्युतबाट सञ्चालन हुने शैक्षिक सामग्री दिन्छ तर विद्यालय विद्युत् महसुल तिर्न नसकेर ति सामग्री सञ्चालन गर्न सक्दैनन् । नगर प्रमुख सिहले विद्यार्थी कम भएका विद्यालय एकीकरण गर्ने योजना रहेको बताउनुभयो ।