• २३ मङ्सिर २०८२, मङ्गलबार

नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

blog

काठमाडौँ, मङ्सिर २३ गते । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (फआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।

फआईएका एक सय ५१ देशका  स्पोर्ट्स फेडेरेसनमध्ये, महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र सो अवर्डका लागि उत्कृष्टको सूचीमा सार्वजनिक भएका छन् ।

फआईएका अध्यक्ष मोहम्मदबिन सुल्येयामले सोमबार सामाजिक संजाल इन्स्टाग्राममार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् ।

प्रत्येकवर्ष सदस्य सङ्घहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफलइभेन्ट, विशेषअभियान, प्राप्त उपलब्धि तथा सङ्घको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ । ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकन पछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ ।

यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलङ्कालगायत देशले आधा दर्जन उम्मेदवारी दिएका थिए । जसको प्रारम्भिक सूची फआईएले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोर्ट्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूततहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पुर्‍याएको हो ।

सङ्घको नवौँ साधारण सभाबाट पारित ‘नासा नेपाल: टोलदेखि वर्ल्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।

आगामी डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने फआईएको साधारण सभामा सो अवर्ड प्रदान गरिने जानकारी हालै अवर्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको छ । यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुनेछ ।

नेसनलमोटर स्पोट्र्स एचिभमेन्ट अवार्डका लागि एसिया प्यासिफिक, मिडलइस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी ६ वटा उत्कृष्ट फेडेरेसन मध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुन बाँकी छ । विश्वभरका मोटर स्पोर्ट्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी फआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् ।

सन् १९०४ मा पेरिसमा स्थापना भएको फआईएले फर्मुलावान लगायत सम्पूर्ण मोटर स्पोर्ट्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ । जहाँ नासा नेपाल २०१२ देखि पूर्ण सदस्यका रूपमा आबद्ध छ ।