• २३ मङ्सिर २०८२, मङ्गलबार

कोइलावास भन्सारमा ३९ लाख रुपियाँ राजस्व सङ्कलन

blog

दाङको गढवा गाउँपालिका–८, कोइलावासमा रहेको भन्सार कार्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, मङ्सिर २३ गते । दाङको कोइलावास भन्सार कार्यालयले ३९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । नेपाल–भारत सीमाअन्तर्गत रहेको कोइलावास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा ३९ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

जिल्लाको एक मात्र भन्सार कार्यालयका रूपमा रहेको कोइलावासले लक्ष्यभन्दा १८ लाख रुपियाँ कम राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले पहिलो चौमासिक अर्थात् कात्तिकसम्म ५७ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ लाख ५८ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गर्न सफल भएको कोइलावास भन्सार कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयाे। 

कार्यालय प्रमुख विष्टका अनुसार सङ्कलित राजस्वमध्ये पाँच लाख मुद्दा लिलामीबाट र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको छ । कार्यालय प्रमुख विष्टका अनुसार साउन महिनामा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा नौ लाख ९० हजार रुपियाँ, भदौमा १४ लाख ९८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भएकोमा ६ लाख ६८ हजार राजस्व सङ्कलन भएको थियो । 

त्यसैगरी असोज महिनामा १४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आठ लाख रुपियाँ र कात्तिक महिनामा १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा नौ लाख ६३ हजार सङ्कलन भएको कोइलावास भन्सार कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयाे । 

पहिलो चौमासिकमा लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसके पनि आगामी दिनमा बढ्न सक्ने कार्यालय प्रमुख विष्ट बताउनुहुन्छ । कार्यालय प्रमुखका अनुसार जेनजी आन्दोलनका कारण समग्र क्षेत्रमा परेको असरसँगै कोइलावास नाकामा भारतीय सुरक्षाकर्मीबाट हुने कडाईका कारण चहलपहल कम हुने गरेको र त्यसको असर राजस्वमा परेको छ । 

कोइलावास क्षेत्रलाई चलायमान बनाउनका लागि नाकामा सहज रूपमा आवातजावत गर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै कार्याल प्रमुख विष्टले भन्नुभयो,‘‘कोइलावास भन्सारको राजस्व स्रोत भनेको अस्थायी पैठारी हो । यसका लागि दुवैतिरबाट आउनेजाने वातावरण सहज बनाउन आवश्यक छ । सामान ल्याउने थोरै मात्र हुने गरेका छन् ।’’ कोइलावासमा भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा रहेको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपियाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपियाँका दरले राजस्व लिने गरेको कार्यालयले जनाएको छ । 

भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलाबास क्षेत्रसँगै कोइलाबासमा रहेको रामजानकी मन्दिरसँगै प्युठानको स्वर्गद्वारीसम्म जानका लागि मानिसहरू आउने गरेका छन् । खासगरी शनिबार कोइलावास क्षेत्रमा रामजानकी मन्दिरसँगै साइकिलिङ खेल्ने र पहाडमा घुम्नका लागि भारतीयहरू आउने गरेका छन् ।