• २३ मङ्सिर २०८२, मङ्गलबार

रामग्रामवासीलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

blog

रामग्राम नगरपालिका र डाक्टर विनोद निता कंण्डेल आँखा अस्पतालबिच निःशुल्क मोतियाविन्दु शल्यक्रियाका लागि सम्झौता पत्र हस्तान्तरण । तस्बिर : बिकास अधिकारी

बिकास अधिकारी

पश्चिम नवलपरासी, मङ्सिर २३ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । गत आर्थिक वर्षदेखि नगरपालिकाले परासीमा रहेको डा. विनोद-निता कण्डेल आँखा अस्पतालसँग सम्झौता गरेर नगरवासीका लागि निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । 

विशेषगरी नगरभित्रका गरिब विपन्न परिवारलाई लक्षित गरेर नगरपालिकाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवा सञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षका लागी साढे तीन लाख बजेट आँखा अस्पताललाई उपलब्ध गराउने छ । आँखा अस्पतालले नगरपालिकाको सिफारिसका आधारमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । 

१८ वटा वडा रहेको रामग्राम नगरपालिका भित्र आर्थिक अभावकै कारण आखाँको जाँच नगर्ने समस्या देखिएकाले त्यसको समाधानका लागि गत वर्षदेखि नगरपालिकाले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको नगर प्रमुख यादवले बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या वृद्धि भएमा आवश्यकताको आधारमा थप बजेट व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ । 

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले नगरवासीको सहजताका लागि नगरपालिकाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया, निःशुल्क रगत, घरघरमा पुगेर जेष्ठ नागरिकको चेकजाँच, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गर्दे आएको जानकारी दिनुभयो ।