• २३ मङ्सिर २०८२, मङ्गलबार

औरही पालिकाद्वारा कमला पुल निर्माणका लागि एक करोड सहयोग

blog

सिरहा र धनुषाको सिमाना रहेका कमला नदीमा भासिएको पुल । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, मङ्सिर २३ गते ।
सिराहा–धनुषा जोड्ने कमला नदीमा जनस्तरबाट पुल निर्माणका लागि सिरहाको औरही नगरपालिकाले एक करोड सहयोग गरिने घोषणा गरेको छ ।

मधेश प्रदेशको जीवन रेखा मानिएको कमला नदीमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएको चार वर्षपछि पुनर्निर्माणका लागि गाउँपालिका अध्यक्ष शिवजी यादवले एक करोड रकम दिने घोषणा गर्नुभएको हो ।

त्यसोत, हुलाकी सडक निर्माण अभियन्ता वरिष्ठ लेखक रामरिझन यादवले गत शनिबार जनस्तरबाट चन्दा सङ्कलन गरेर भए पनि पुल निर्माण अभियान सुरु गर्नुभएको छ ।

कुनै पहल नभएपछि जनस्तरबाटै पुल निर्माणको अभियान सुरु गर्न लागेको यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुल निर्माणका लागि थप सहयोग जुटाउन विष्णुमहायज्ञ गर्ने तयारीसमेत भइरहेको छ ।’’

यहि मङ्सिर ५ गते ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले कमला पुलको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो ।

उहाँले यही पुललाई मर्मत गर्न सकिन्छ कि अर्को पुल निर्माण गर्नुपर्ने हो यस विषयमा निष्कर्षमा पुगी समस्या समाधान गरिने विश्वास व्यक्त गर्नुभएको थियो । मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै अभियानी राम रिझन यादवले नेपाल सरकारले कुनै चासो नलिए जनस्तरबाट चन्दा सङ्कलन गरेर भए पनि पुल निर्माण गरिने अनुमति माग गर्नुभएको थियो । 

चार सय ७० मिटर लामो ११ मिटर चौडाइ साढे तीन वर्षभित्रै सम्पन्न गर्नेगरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स कन्सट्रक्शनले लिएको थियो । पटक पटक म्याद थप्दा पनि पुल निर्माण कार्य अघि नबढ्दा २०७५ सालमा हुलाकी मार्ग निर्माणका लागि वरिष्ठ लेखक रामरिझन यादवको नेतृत्वमा रिले अनसन गरेर दबाब सृजना गर्दा हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्सट्रक्शनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्ट्रकशनले सम्झौता गरेको थियो ।

२०७८ असार १३ गतेभित्र सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम तीव्र गतिमा अघि बढ्यो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपटिको पाया भासिएको थियो । यस पश्चिमपटिको पायामा समेत असर परेको छ ।