• २३ मङ्सिर २०८२, मङ्गलबार

उन्नत गाईपालनमा आकर्षित मुस्ताङको स्याङ गाउँ

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा गरिएको उन्नतजातको गाईपालन । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २३  गते ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३,स्थित स्याङ गाउँमा दुई दशक अगाडि स्थानीय फलेन्द्रप्रसाद थकालीले अनुदानमार्फत दुई वटा जर्सी दुधालु गाई भित्र्याउनुभयो । तत्कालीन जिल्ला विकास समितिमार्फत हिमाली जिल्लामा जर्सी गाईको परीक्षणका लागि लागू भएको परियोजना अगाडि स्थानीयले घरायसी प्रयोगका लागि परम्परागत हिमाली लुलु गाई पालन गर्ने गरेका थिए । अनुदानबाट भित्रिएको जर्सी गाईबाट भएको आम्दानी देखेर गाउँ नै पशुपालनमा आकर्षित भएको छ ।

हाल वडा अध्यक्ष रहनुभएका थकालीले कृषिखेतीलाई सघाउन र दुध बेचेर घरखर्च चलाउन सुरू गरेको गाईपालन अहिले सिङ्गो गाउँमा फैलिएको छ । चिसो हावापानीमा अनुदानबाट ल्याइएको जर्सी गाईको परीक्षण सफल भएपछि एकदशक अगाडि हिमाली परियोजनाबाट मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रममार्फत गाउँमा ८० प्रतिशत अनुदानमा २० वटा उन्नत जर्सी ल्याएसँगै स्थानीय गाईपालनमा आकर्षित भएका छन् । स्याङ गाउँका स्थानीयले अहिले कम दुध उत्पादन हुने स्थानीय जातका गाईपालन गर्न छोडेर जर्सी पालनबाट रहरलाग्दो आम्दानी गरिरहेको वडा अध्यक्ष थकालीले बताउनुभयो ।

वडा अध्यक्ष थकालीले भन्नुभयो, ‘‘दुध धेरै दिने र आम्दानी पनि राम्रो हुन थालेपछि उन्नत जातका गाईपालन गरिएको छ, विपन्नलाई वडाबाट गाइपालनमा अनुदानको सुविधासमेत छ ।’’ वडा अध्यक्ष थकालीले अनुदानको सदुपयोगसँगै उन्नतजातको गाईपालनबाट स्थानीयको आम्दानी, बाहिरी जिल्लाबाट आएका मजदुरलाई रोजगारी मिलेको बताउनुभयो ।

गाउँमा ३० घरधुरीले व्यवसायीक पशुपालन गरेकोमा दैनिक विहान र साँझ गरी ४ सय  लिटरसम्म दुध बिक्री हुने गरेको छ । वडा अध्यक्ष थकालीले सिङ्गो गाउँलाई नै पशुपालनमा आर्कषित गर्न अनुदानका कार्यक्रमहरूलाई निरन्तरता दिएको बताउनुभयो । गाउँका अगुवा कृषक चन्द्र थकाली, जीवन थकाली, बिशाल पटेल सहितका कृषकले स्थानीय दुध सङ्कलन केन्द्रमा प्रति लिटर ८५ रुपियाँमा बिक्री गर्ने गरेका छन् भने केही पशुपालक कृषकले घरदैलोमा समेत लगेर प्रति लिटर एक सय १० रुपियाँमा बिक्री गर्ने गरेको छ । स्याङ गाउँबाट सदरमुकाम जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथसम्म बिक्री हुने गरेको कृषक चन्द्र थकालीले बताउनुभयो । पशुपालक कृषकले मललाई स्याउबारीमा प्रयोग गर्ने गरेका छन् । स्थानीयले दुधालु गाईलाई छिमेकी गाउँहरूमा बिक्री गर्ने गरेका छन् ।

पशुपालनमा सक्रिय कृषकलाई  कृषि तथा पशु विकास कार्यालयबाट कृतिम गर्भाधानसहित अनुदानका कार्यक्रम रहेको कार्यालय प्रमुख डा.लालमणि अर्यालले बताउनुभयो । कार्यालय प्रमुख अर्यालका अनुसार तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा क्रस होलिस्टिक र जर्सी गरी साढे तीन सयको सङ्ख्यामा गाईपालन छ ।

होलिस्टिक र जर्सी गाईपालनका लागि मात्रै कृत्रिम गर्भाधान सेवा छ । कृतिम गर्भाधान सेवाले कृषकलाई राहत भएको छ । ग्रामीण क्षेत्रमा पशुपालनमा सक्रिय स्थानीयलाई एकल तथा समूहमा समेत गाईपालनका लागि स्थानीय तहले समेत विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।उन्नत जातको गाईपालनपछि मुस्ताङका होटलमा पाउडर दुधको प्रयोग घटेको छ ।