• २३ मङ्सिर २०८२, मङ्गलबार

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

blog

जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाविरुद्ध आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी),मङ्सिर २३ गते  सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

साढे तीन वर्षको अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये एक सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाविरुद्ध आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, ०७९/०८०, २०८०/०८१ र चालु आ.व . २०८२/०८३ को हालसम्म हराएका १११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिनुभयो ।

उहाँले मात्रै यो तीन वर्षमा ४२६ जना हराएकोमा ३६१ जना भेटिएको र ६५ जना अझै नभेटिएको बताउनुभयो ।

यस अवधिमा ४६ जना बालक हराएकोमा ३९ जना भेटिएको र सात जना नभेटिएको, १५२ जना बालिका हराएकोमा ११९ जना भेटिएको, २११ जना महिला हराएकोमा १९५ जना भेटिएको र नै जना ज्येष्ठ नागरिक हराएकोमा आठ जना भेटिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यस्तै, चालु आ.व. २०८२/८३ को साउनदेखि अहिलेसम्म १३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै फेला पर्न सकेको छैन । यसरी ६५ जना र ४६ जना गरी एक सय ११ जना अझै बेपत्ता छन् ।

यस अवधीमा १० जना बालक हराएकोमा ८ जना फेला परेको, ५२ जना बालिका हराएकोमा ३२ जना भेटिएको, ६१ जना महिला हराएकोमा ३१ जना भेटिएको, १४ जना पुरुष हराएकोमा ८ जना भेटिएको र दुई जना ज्येष्ठ नागरिक हराएकोमा एक जना भेटिएको कार्यक्रममा गरिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य रहनुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीमा पाँच महिनामा ९५ वटा महिला हिंसाका उजुरी परेको बताइएको छ ।

जिल्ला प्रहरीका अनुसार चालु आ.व.को साउनदेखि अहिलेसम्म ९५ वटा उजुरी पर्दा ७० वटाको मिलापत्र गराइएको र २५ वटा सम्पर्कमा नआएकाले बाँकी रहेको हो ।

यस अवधीमा घरेलु हिंसासम्बन्धी १४ वटा निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा परेको छ । त्यसमध्ये १२ वटाको मिलापत्र गराइएको र २ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।