पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, मङ्सिर २३ गते । पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर)मा भएको पुरातात्विक उत्खननमा बौद्धकालीन शहरका भग्नावशेष र पूर्वाधारहरू फेला परेका छन् । विगत वर्षहरूमा गरिएको भूभौतिक सर्वेक्षणको प्रतिवेदनका आधारमा गरिएको उत्खननमा प्राचीन इनार र इनार नजिकैका भवनका पूर्वाधारहरू फेला परेका हुन् ।
प्राचीन संरचना र ६०० ईसा पूर्वको प्रमाण
पुरातत्वविद् भास्कर ज्ञवालीका अनुसार भेटिएका बस्तीको पर्खाल र इँट कुषाणकालको हुन सक्ने अनुमान छ । सबैभन्दा महत्त्वपूर्ण तथ्य, उत्खनन् टोलीले यहाँ भेटिएका सामग्रीहरूको कार्बन डेटिङ (समय परीक्षण) गर्दा ती वस्तुहरू ईसा पूर्व ६०० वर्ष पुराना रहेको पुष्टि भएको छ । यसले उक्त स्थान कोलिय गणराज्यको राजधानी भएको तथ्यलाई थप बल पुर्याएको छ । पुरातत्वविद्हरूको अनुमानमा यो प्राचीन राजधानी क्षेत्र करिब ३६०० वर्गमिटर मा फैलिएको छ ।

पुरातत्व टोलीका सहयोगी नारद यादवका अनुसार, “कार्बन डेटिङले बुद्ध जन्मनु पूर्वकालका सामग्री देखाएको छ । यसले कोलिय गणराज्यको राजधानी भएको पुष्टि गर्छ ।’’
धार्मिक पर्यटनको केन्द्रबिन्दु
कोलनगर क्षेत्र भगवान गौतम बुद्धलाई जन्म दिने आमा महामाया, पालनपोषण गर्ने प्रजापति गौतमी, र बुद्धत्व प्राप्तिका लागि सहज सहयोग गर्ने पत्नी यशोधराको जन्मस्थल भएकाले यो संसारभरका बौद्धमार्गीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो ।
कोलिय राजाहरूले स्थापना गरेको रामग्राम स्तुपलाई अहिलेसम्म मौलिक स्तुपको रूपमा बचाई राख्नमा कोलियहरूको ठुलो योगदान रहेको मानिन्छ । यसको खोज तथा प्रचारप्रसारले यस क्षेत्रको धार्मिक पर्यटनलाई ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।


