स्याङ्जा समाचारदाता
स्याङ्जा, मङ्सिर २३ गते । बिरुवा गाउँपालिका–६, चिन्नेबासमा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । ‘सामाजिक विकासका लागि सहयोगी हातहरू’ नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधासम्पन्न भवन निर्माण गरेर चिन्नेबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य चौकीलाई आवश्यक पर्ने थप भौतिक पूर्वाधार गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण गरेर १० शैøयाको अस्पताल सञ्चालनमा ल्याएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल समग्रमा सहयोगी संस्था र पालिकाले एक करोड ७४ लाख ८० हजार रुपियाँमा निर्माण भएर प्रयोगमा आएको हो । स्वास्थ्य सेवा विस्तार गर्दै गाउँमै ओपिडी, आकस्मिक, एक्सरे, भिडियो एक्सरे, सिबिसी, एलएफटी, आरएफटीलगायतका प्रयोगशालामा परीक्षण सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि पोखरालगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपत्कालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्न अस्पताल सञ्चालन गरेको कुँवरले बताउनुभयो ।
अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट थप सुदृढ बनाउँदै लैजाने बताउँदै कुँवरले यसले बिरुवाको जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने बताउनुभयो । स्वस्थ नागरिक नै विकासको मेरुदण्ड भएको बताउँदै कुँवरले अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालमा एमबिबिएस डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फार्मेसी सुपरभाइजर गरी नौ जना स्वास्थ्यकर्मी रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले जानकारी दिनुभयो ।
विशेष गरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता आएको छ । गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवा थप गरी अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको पोखरेलले बताउनुभयो ।
अस्पतालको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री माननीय कृष्णप्रसाद पाठकले अस्पतालको सेवा विस्तारका लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता गर्नुभयो ।