सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, मङ्सिर २३ गते । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन १२ तले अत्याधुनिक भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । प्रदेशको ‘गौरवको आयोजना’ मानिएको यस परियोजनाको भौतिक प्रगति हाल ३२ प्रतिशत तथा वित्तीय प्रगति २७ प्रतिशत पुगेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जानकारी दिनुभयो ।
रुपन्देहीलगायत पाल्पा, गुल्मी, दाङ, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, नवलपरासी, कपिलवस्तुमा समेत ११५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको यस अस्पतालमा बिरामीको अत्यधिक चाप बढेपछि यसको स्तरवृद्धिका लागि १२ तले मुख्य भवन र चारतले क्यान्सर भवन निर्माण भइरहेको हो । करिब सात हजार सात सय वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन मुख्य भवनमा सात सय शय्या रहने छन् भने एक सय शय्याको क्यान्सर भवनसमेत बन्ने छ ।
यो अस्पताल निर्माणका लागि आठ अर्ब ९९ करोड ७५ लाख रुपियाँ लागत अनुमान गरिएकामा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले छ अर्ब १८ करोड रुपियाँमा ठेक्का सम्झौता गरेका हुन् । २०८० पुस २६ मा ठेक्का सम्झौता भएको परियोजनाको शिलान्यास आठ महिनापछि २०८१ भदौ १५ मा गरिएको थियो । हाल निर्माण स्थलमा तीन सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । प्रदेश सरकारद्वारा विनियोजित बजेट अपुग भएपछि निर्माण कम्पनीले हाल उधारोमै काम अगाडि बढाइरहेको प्राधिकरणका निर्देशक पोखरेलले बताउनुभयो ।
चालु आवमा विनियोजित एक अर्ब रुपियाँमध्ये ८५ करोड अघिल्लो वर्षको भुक्तानीमै खर्चिएपछि नयाँ वर्षका कामका लागि बजेट अभाव भएको हो । कात्तिकसम्मको सम्पन्न कामको अझै २४ करोड रुपियाँ भुक्तानी बाँकी छ । बजेट अभाव समाधानका लागि थप ८० करोड रुपियाँ माग गरिए पनि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएको पोखरेलको भनाइ छ । उहाँले भन्नुभयो, “रकम समयमै उपलब्ध भयो भने निर्धारित २०८५ पुस २५ भन्दा पहिल्यै निर्माण सकिने सम्भावना छ ।”
साइट इन्जिनियर शङ्कर सुवेदीका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको १८ प्रतिशत मात्र पेस्की लिएको र हालको गति कायम रह्यो भने आगामी असार मसान्तसम्म ५० प्रतिशत काम पूरा गर्ने लक्ष्य राखिएको छ ।
भवनको डिजाइन तथा गुणस्तर सुपरिवेक्षण काठमाडौँ विश्वविद्यालय अन्तर्गत ‘काठमाडौँ युनिकन्सर्न कन्सल्टेन्सी’ ले गरिरहेको छ । यसका १६ प्राविधिकले निर्माण सामग्री र कामको गुणस्तर नियमित अनुगमन गरिरहेका छन् । आर्थिक चुनौतीबिच पनि निर्माणका कामले गति लिन थालेपछि लुम्बिनी प्रदेशको दीर्घकालीन स्वास्थ्य पूर्वाधार अब छिट्टै नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।