जुम्ला समाचारदाता
जुम्ला, मङ्सिर २३ गते । अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियानका क्रममा गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले गाउँ गाउँमा मानव अधिकारको सवाल, हिंसा र छाउपडीको असरको विषयमा सचेतना कार्यक्रम गरिरहेको छ ।
झन्डै एक वर्षदेखि कामविहीन जस्तै अवस्थामा देखिएको आयोगले कार्यालय पुनः सञ्चालनमा आएसँगै गाउँ गाउँमा लैङ्गिक हिंसाविरुद्धको अभियान थालिएको छ । आयोगले जिल्लाको गुठीचौर गाउँपालिका–५, कुम्डीगाउँमा १६ दिने अभियान अन्तर्गत छुई प्रथा र छुवाछुतको असर, मानव अधिकार, महिला अधिकार, घरेलु हिंसा, बालबालिका सुरक्षालगायतका विषयमा जानकारी गराएको छ ।
यसै गरी आयोगका प्रमुख कल्पना आचार्यले गुठीचौर गाउँपालिका–१ मणिसाँघु, कनकासुन्दरी गाउँपालिकामा समेत लैङ्गिक हिंसा र घरेलु हिंसा, छाउपडी अवस्थाको विषयमा अन्तर्क्रियासमेत गरिएको बताउनुभयो । उहाँले समुदायमा हुने हरेक प्रकारको हिंसा रोक्न सबै पक्षको सामूहिक भूमिका अनिवार्य भएकाले यस्ता समस्या भएका कारण आयोग जनस्तरमा पुगेर सचेतना अभिवृद्धि गरिरहेको जानकारी दिनुभयो । जुम्लामा यौनजन्य हिंसा, बालिका बलात्कार तथा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको छ । हिंसाका घटनापछि पीडित महिलामध्ये धेरैजसो मानसिक तनाव, सामाजिक बहिष्कार र दीर्घकालीन आघातको समस्याबाट पीडित हुने गरेको आयोगले जनाएको छ ।
आयोगको जुम्ला कार्यालयले हिंसा रोकथाम र मानव अधिकार प्रवर्धनका लागि आगामी दिनमा विभिन्न सचेतनामूलक कामलाई प्राथमिकताका रूपमा अघि सारेको बताएको छ । दुर्गम बस्तीमा नियमित मानव अधिकार शिक्षा तथा सचेतना कार्यक्रम विस्तार गर्ने, पीडितको पहुँच अझ सहज बनाउन स्थानीय तहसँग सहकार्य गर्ने, जुम्लामा भइरहेका यौनजन्य हिंसा तथा बालबालिका हुने अपराधका घटना न्यूनीकरणका लागि राज्यको ध्यानाकर्षण गर्न आवश्यक देखिएकाले सबैको सहकार्यमा अगाडि बढ्ने आयोगले जनाएको छ । गाउँमा आयोगसहितका निकायसँग सचेतना अभियानमा पुग्नुभएका दिमा आमाघर जुम्लाका अध्यक्ष तथा पत्रकार दिलमाया शाहीले गाउँमा अहिले पनि छाउपडी प्रथा तथा विभिन्न कुरीति व्यापक भएकाले त्यसका विरुद्धमा सचेतना आवश्यक रहेको बताउनुभयो ।