• २५ मङ्सिर २०८२, बिहिबार

भेडेटारमा ट्रक दुर्घटना : चालक घाइते

blog

धनकुटा भेडेटारस्थित मालबासेमा भएको ट्रक दुर्घटना । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) मङ्सिर २३ गते ।
कोशी लोकमार्गमा पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बस्ने करिब २७ वर्षीय आशिष लिम्बू हुनुहुन्छ । विराटनगरबाट सङ्खुवासभाको शितलपाटीतर्फ जाँदै गरेको को १ ख ७४४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो ।

उक्त ट्रक अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको सङ्खुवासभा जाँदै गरेको थियो । घाइते भएका लिम्बूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।