• २३ मङ्सिर २०८२, मङ्गलबार

महिलाको कार्यबोझ जस्ताको तस्तै

blog

गाईवस्तुका लागि घाँसको भारी बोकेर आउँदै खाँडाचक्र नगरपालिका–४ का महिला । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता  

कालीकोट, मङ्सिर २३ गते ।   ग्रामीण क्षेत्रका महिलाको कार्यबोझ अझै घटेको छैन । घरपरिवार चलाउने सबै जिम्मेवारी महिलाकै काँधमा भएका कारणले दैनिक कार्यबोझ घट्न नसकेको हो । घरायसी कामका साथै वस्तुभाउ पाल्नेसम्मका कामको जिम्मा महिलालाई छ । बिहानैदेखि रातिसम्म घरमा खाना पकाउने, भाँडा माझ्नेदेखि घाँस काट्ने, दाउरा बोक्ने, खेतबारीका काम गर्ने, घरधन्दा समाल्ने र बच्चाको हेरचाह गर्ने सबै काम महिलाले नै समाल्दै आएका छन् । महिलामाथिको कार्यबोझ उस्तै छ । दुर्गम बाटो, उकाली ओराली र भारी बोकेर टाढासम्म हिँड्नुपर्ने बाध्यताले महिलाको दैनिक जीवन अझै कष्टकर बनेको छ । 

खाँडाचक्र नगरपालिका–१ निवासी गौरा शर्मा आचार्यले बिहानै घरको सरसफाइदेखि वनपात गर्नुपर्ने बताउनुभयो । उहाँले सडक छ तर घाँसका भारी बोकेर हिँडेका महिलालाई देखाउँदै जुनसुकै सरकार आए पनि आफ्ना दुःख नहट्ने भो भन्ने चिन्ता व्यक्त गर्नुभयो । पुरुषहरू प्रायः रोजगारीका लागि घरबाहिर जाने भएकाले घरपरिवार र खेतीपातीको सबै जिम्मा महिलाले लिनुपर्ने उहाँको भनाइ छ । महिला अधिकारकर्मी निस्ता कार्की रावलले महिलाको कडा मेहनतलाई उचित मूल्याङ्कन न घरपरिवारले गरेको, न त समाजले गर्ने गरेको बताउनुभयो । यता १६ दिने हिंसाविरुद्धको महिला अभियान चलिरहेको छ, तर महिलाका पीडा अझै उस्तै रहेको उहाँले जनाउनुभयो । स्थानीयका अनुसार महिलाको यो बोझ कम गर्न सहुलियतमा यातायात, सामुदायिक घाँस/दाउरा व्यवस्था, कृषि उपकरण र सीपमूलक कामको अवसर बढे मात्र उनीहरूको जीवन केही सहज बताउँछन् । 

नागरिक अगुवा तथा अधिवक्ता खडानन्द चौँलागाईले ग्रामीण क्षेत्रका महिलालाई केन्द्रित गरेर कृषिजन्य वस्तु मल बनाउने, चाहिने कच्चा वस्तु ढुवानीको व्यवस्था गरिदिनेलगायतका अनुदानका काम नहुँदासम्म अवस्था उस्तै रहने बताउनुभयो । खेतमा मल चाहिन्छ, वनपात गर्नै पर्ने बाध्यता छ । सरकारले पनि खेत बाँझो छोड्नु हुँदैन भन्छ, मलबिना उत्पादन हुँदैन, त्यसका लागि पनि यसरी वनपात गर्नुपर्ने बाध्यता महिलामा रहेको चौलागाईंको भनाइ छ । महिलाको कार्यबोझ घटाउन स्थानीय तह, प्रदेश सरकारले विभिन्न आयआर्जनका काममा संलग्न गराउनुपर्ने उहाँको भनाइ छ ।