• २३ मङ्सिर २०८२, मङ्गलबार

नेपालकै बाटो भएर पच्चिस वर्षपछि ‘कुन्चा’

blog

नेपालको बाटो भएर सदरमुकाम आएको सौका समुदाय । तस्बिर सौजन्य : नेपाली सेना

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), मङ्सिर २३ गते । छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ । 

२५ वर्षअघि २०५७ सालतिर नेपालको बाटो हुँदै जान सकिन्थ्यो । त्यसयता आवतजावत गर्ने घोडेटो बाटो बिग्रिएपछि नेपालबाट दार्चुला जिल्ला सदरमुकाम खलङ्गा आउन बन्द भयो । नेपालबाट बाटो नभएका कारण यहाँका सौका समुदायका मानिस भारतको बाटो प्रयोग गरेर आउन बाध्य भएका छन् ।  अब भने छाङरु र तिङ्करगाउँबाट नेपालको बाटो भएरै विगतमा झैँ सदरमुकाम खलङ्गा आउन सकिने भएको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण गरिएको घोडेटो बाटोबाटै सदरमुकाम खलङ्गा आउन सकिने भएको छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताउनुभयो । घोडेटो बाटो निर्माणमा नेपाली सेनाले विशेष भूमिका निर्वाह गरेको छ । 

नेपाली सेनाले गत आर्थिक वर्ष २०८१/८२ मा व्यास गाउँपालिका २ को तम्बाकु क्षेत्रमा ७२० मिटर बाटो निर्माण गरेको थियो भने चालु आव २०८२/८३ मा आतुङ्ती र कल्जु क्षेत्रको भिरमा तीन सय मिटर बाटो निर्माण गरेको दार्चुला–तिङ्कर सडक अन्तर्गतको (कोठेधार तिङ्कर सडक) आयोजनाका प्रमुख, प्रमुख सेनानी राजेश कटुवालले जानकारी दिनुभयो । दुम्लिङदेखि छाङरुगाउँसम्म घोडेटो बाटोको लम्बाइ २९ किलोमिटर छ । 

घोडेटो बाटोको बाँकी क्षेत्र निर्माण कम्पनी मिसन–देवहरि जेभीले गरेको निर्माण कम्पनीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिनुभयो । घोडेटो बाटो निर्माण भएपछि छाङरु र तिङ्करगाउँका सौका समुदायको ‘कुन्चा’ अब सहज रूपमा नेपालकै बाटो भएर आउन सक्ने भएका छन् । २५ वर्षपछि नेपालकै बाटो भएर ‘कुन्चा’ सदरमुकाम ल्याएको छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भारतको बाटो प्रयोग गर्दा अनेक समस्या झेल्नु परेको थियो, नेपालबाटै सहज रूपमा यस वर्ष ‘कुन्चा’ ल्याइयो ।” बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुन्चा’ सर्नु भनिन्छ । सङ्घीय सरकारबाट गत आवमा विनियोजित पाँच करोड ५० लाख रुपियाँ र व्यास गाउँपालिकाको ५० लाख रुपियाँ खर्च गरेर व्यास घोडेटो बाटो निर्माण गरिएको हो । सौका समुदायका अधिकांश कुन्चा भारतीय बाटो भएर आएको छ भने केही कुन्चा नेपालकै बाटो भएर खलङ्गा आएको छ ।