• २५ मङ्सिर २०८२, बिहिबार

भारततिर गएर मर्दै छन् दुर्लभ गिद्ध

blog

भारततिर ओहोरदोहोर अवस्थामा स्याटेलाइटमार्फत देखिएका गिद्ध ।

धनगढी समाचारदाता 

धनगढी, मङ्सिर २३ गते । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्ध भारततिर गएर मर्न थालेका छन् । स्याटेलाइट जडान गरिएका दुर्लभ डङ्गर र अति सङ्कटापन्न सानो खैरो गिद्ध भारततिर गएर कतिपय मरेका छन् भने कतिपय हराउन थालेका छन् । पछिल्लो दुई वर्षमा भारततर्फ गएकामध्ये स्याटेलाइटजडित दुई गिद्ध मरेका छन् भने दुई वटाको अवस्था अज्ञात रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले जनाएको छ । 

सन् २०२४ मा भारतमा गएको जे–११ ट्याग लगाइएको अति सङ्कटापन्न सानो खैरो गिद्ध टाटरगन्जस्थित शारदा नदी किनारमा रहेको गाईभैँसी पाल्ने गोठमा मृत भेटिएको थियो । सोही वर्ष लखिमपुर क्षेत्रतर्फ गएको जे–२६ ट्यागजडित डङ्गर गिद्धको अवस्था हालसम्म अज्ञात छ । त्यस गिद्धको लोकेसन एक वर्षदेखि एकै ठाउँमा देखा परिरहेको सङ्घले जनाएको छ । यसै गरी जे–२० ट्याग लगाइएको सानो खैरो गिद्ध गएको नोभेम्बरमा नेपाल–भारत सीमाक्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गिद्धमा लगाइएको ट्याग भने काटेर लगिएको थियो । नोभेम्बर महिनाकै २७ देखि भारतमा एकै ठाउँमा लोकेसन देखा परिरहेको जे–२५ ट्यागजडित सानो खैरो गिद्धको अवस्था पनि अज्ञात रहेको छ । विगत डेढ हप्तादेखि सो गिद्धले ओहोरदोहोर गरेको छैन । 

जे–१२ र जे–१९ ट्याग लगाइएका दुई वटा सानो खैरो गिद्ध भने सन् २०२४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै मृत अवस्थामा फेला परेको थियो । निकुञ्ज क्षेत्रमा गुँड लगाएका गिद्ध आहाराका लागि भारतमा रहेको नदीनालातिर बढी जाने गरेको बिसिएनका गिद्ध संरक्षण कार्यक्रम प्रबन्धक अङ्कितविलास जोशीले बताउनुभयो । त्यतातिर सिनो बढी पाइन्छ तर त्यता गएर गिद्ध मर्नुको ठोस कारण अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मरेका गिद्धको हालसम्म जाँच हुन सकेको छैन । जोशीले गिद्धका बारेमा अन्तरसीमा सहकार्य आवश्यक रहेको बताउनुभयो । 

बिसिएनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेकामध्ये १५ वटा डङ्गर र १२ वटा सानो खैरो गिद्धमा स्याटेलाइट जडान गरिएको छ । जसमार्फत स्याटेलाइटजडित गिद्धको नियमित अनुगमन भइरहेको छ । निकुञ्जमा करिब तीन सयको हाराहारीमा रहेकामध्ये अत्यधिक गिद्धमा स्याटेलाइट जडान भएको छैन । स्याटेलाइट जडान नभएका गिद्धको प्रविधिमार्फत अनुगमन नहुने गरेकाले भारततिर गएर यस्ता गिद्ध पनि मर्ने गरेको हुन सक्ने चराविद् हिरूलाल डङ्गौराको भनाइ छ । उहाँले गिद्धका लागि हानिकारक डाक्लोफेनेक विषादी भारतमा प्रतिबन्धित रहे पनि केटोप्रोफेन, निमुसोलाइड र एसिक्लोफेनेकको प्रयोग जारी रहेको बताउनुभयो । मान्छेमा प्रयोग गर्ने डाक्लोफेनेक र एसिक्लोफेनकसमेत पशुचौपायामा प्रयोग गरिरहेको छ । जुन गिद्धका लागि हानिकारक हो । शुक्लाफाँटाका गिद्धहरू दोधारा–चाँदी सीमाक्षेत्र, दुधुवा नेसनल पार्कको पलिया क्षेत्र, किसनपुर वाइल्ड लाइफ सेन्चुरीसम्म पुग्ने गरेका छन् । बेलैमा सम्बन्धित ठाउँमा पुगेर गिद्धको खोजी गर्न नसक्नु आफ्नै कमजोरी रहेको जोशीले बताउनुभयो । भारतमा मुम्बई नेचर हिस्ट्री (बिएनएचएस) नामक संस्थाले गिद्ध संरक्षणको काम गर्दै आएको छ । सन् १९९० को दशकअगाडि डाक्लोफेनेकका कारण दक्षिण एसियामा एकाएक गिद्ध मर्न थालेपछि त्यो विषादीको प्रयोगमा बन्देज लगाइएको थियो ।