पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर २३ गते । पश्चिम नवलपरासीको सुस्तास्थित फेचुवा १ मा सब–डिभिजन वन कार्यालय प्रतापपुर, सुस्ताको भवन निर्माण सुरु भएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले शिलान्यास गर्नुभयो ।
सो क्रममा मन्त्री कलवारले यस क्षेत्रको वन व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै वन संरक्षणमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटबाट ५० लाख विनियोजन गरिएको छ । यसले तोकिएको समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
यस कार्यालय भवनको निर्माणले स्थानीय तहमा वन प्रशासनलाई थप सुदृढ बनाउने र वन तथा वातावरण संरक्षणसम्बन्धी सेवाहरूलाई सर्वसाधारणसम्म सहज र छिटो पुर्याउने मुख्य उद्देश्य राखेको छ ।
नयाँ सब–डिभिजन कार्यालयले विशेष गरी सुस्ता क्षेत्रको वन पैदावारको व्यवस्थापन, अवैध कटानी नियन्त्रण र वन अतिक्रमण न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।