• २३ मङ्सिर २०८२, मङ्गलबार

गोरखाको याङदीबाट एक करोडको सुन्तला बिक्री

blog

गोरखाको गण्डकी गाउँपालिका – २ याङदीका किसान एक बहादुर थापाको ७ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैचा । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, मङ्सिर २३ गते ।
गोरखाको गण्डकी गाउँपालिका – २ याङदी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । मेहेनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक याङदीका किसानले एक करोड रुपियाँको सुन्तला बिक्री भएका हुन् ।  

सुन्तला उत्पादक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष एकबहादुर थापाका अनुसार यो वर्षमा मात्र याङदी टोलका १४० जना सुन्तला किसानको बगैंचाबाट एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरिएको छ ।  

गोरखामा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना गोरखा र कृषि ज्ञान केन्द्र गोरखा तथा विभिन्न सहकारी संस्थाले प्रवर्धन गरेको प्राविधिक सहयोगले उत्पादन वृद्धि हुन मद्दत पुगेको सुन्तला किसान थापाले बताउनुभयो ।

यस वर्ष याङदीका सुन्तलामा जौविक मलको प्रयोग गरी किरा नियन्त्रणका लागि समयमै उपचार तथा सिँचाइ व्यवस्थापनमा सुधार भएकाले बगैंचाका रुखहरु स्वास्थ्य रहेकाले सुन्तला उत्पादन पनि उच्च भएको याङदीका अर्का सुन्तला किसान तुल बहादुर थापाको भनाइ छ ।

अघिल्लो वर्षमा सुन्तला उत्पादन राम्रो भए पनि बजार मूल्यमा समस्या भएको थियो, सुन्तला किसान एक बहादुर थापाले बताउनुभयो । उहाँले यो पटक व्यापारीहरु सुन्तलाको बोटमा गएर सम्झौता गरी एक लाखदेखि २५ लाखसम्म रकम बुझी किसानको लगानी सुरक्षित गरेर उल्लेखित नाफा कमाएको जानकारी दिनुभयो ।

याङदीमा सुन्तला राम्रो उत्पादन भएपछि विभिन्न ठाउँका व्यपारीहरु आफैँ सुन्तला टिप्ने, ढुवानी गर्ने भएकाले किसालाई कुनै समस्या नदेखिएको किसानहरुले बताएका छन् । गुणस्तरिय फलले बाहिरी बजारमा समेत राम्रो माग पाएको छ ।

याङदी टोलका अधिकांश किसान सुन्तलालाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । पछिल्लो समय युवा जनशक्ति पनि वैदेशकि रोजगारीको विकल्पका रुपमा सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन वृद्धि तथा बजार विस्तारसँगै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीयले बताएका छन् ।  

गण्डकी गाउँपालिकाले पनि सुन्तला उत्पादनलाई दीर्घकालीन रुपमा प्रबर्धन गर्न कृषि सडक, सिँचाइ, भण्डारण केन्द्र तथा प्रविधि मैत्री तालिममा थप लगानी गर्दै आगमी वर्षदेखि उत्पादनलाई ब्रान्ड बनाई “गोरखा याङदी सुन्तला” नाममा बजारमै चिनाउने तयारी भएको पालिकाका अध्यक्ष दिपक तिमेल्सनाले बताउनुभयो ।

यस वर्ष उत्पादन र बिक्री दुबै पक्षबाट सफल परिणाम आएकाले किसानमा ठुलो उत्साह छ । किसानहरुले आगामी वर्ष झनै उत्पादन बढी गर्ने लक्ष्यसहित नयाँ बगैंचा विस्तार, गुणस्तरिय बिरुवा तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिने योजना बनाएका छन् ।

एउटा टोलबाट एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री हुनुले गोरखा जिल्लामा सुन्तला खेतीले उज्ज्वल सम्भावना बोक्ने सङ्केत दिएको प्रधानमन्त्री तथा कृषि आधुनिक परियोजना कार्यालय गोरखाका प्रमुख पूर्ण ढुंगानाले बताउनुभयो ।