• २० असोज २०८१, आइतबार

सानो लगानीमा राम्रो आम्दानी

blog

प्लास्टिक पोखरीमा पानी हाल्दै कृषक धनबहादुर मस्र्याङ्गी ।तस्बिर : नवीन शाही

काँक्रेविहार समाचारदाता 

सुर्खेत, असार २५ गते । गाउँघरमा श्रमिकका रूपमा ज्याला मजदुरी गर्ने धनबहादुर मस्र्याङ्गीको अहिले परिचय बदलिएको छ । वराहताल गाउँपालिका–५, रचाका मस्र्याङ्गी अहिले व्यावसायिक कृषक बन्नुभएको छ । परम्परागत खेतीसँगै व्यावसायिक तरकारी खेतीमा जोडिएपछि उहाँको दैनिकी फेरिएको हो । मस्र्याङ्गीले अहिले छ रोपनी जग्गामा खेती गर्नुभएको छ । 

खेतभन्दा तल पानीको मुहान हुँदा सुक्खायाममा जमिन बाँझो हुन्थ्यो । अहिले पम्पसेटबाट पानी तानेर खेती गर्न सजिलो भएको मस्र्याङ्गीले बताउनुभयो । उहाँले पम्पसेट खरिदमा ६० हजार रुपियाँमा खरिद र प्लास्टिक पोखरी निर्माणमा १३ हजार रुपियाँ खर्च गर्नुभएको छ । यसमध्ये गाउँपालिकाले ३६ हजार पाँच सय रुपियाँ दिएको मस्र्याङ्गीले बताउनुभयो । 

मोटरबाट पानी तानेर पोखरीमा जम्मा गरी सिँचाइ गर्न थालेपछि जुनसुकै बेलामा पनि खेती राम्रो हुन थालेको छ । मस्र्याङ्गीले गएको सुक्खायाममा डेढ लाख रुपियाँ आम्दानी गर्नुभयो । काँक्रा, लौका, फर्सी, सिमी, बोडीलगायतको तरकारी खेती गर्नुभएको थियो । 

“७५ हजार रुपियाँभन्दा बढीको काँक्रो बिक्री गरेँ । एक क्विन्टलभन्दा बढी लौका, त्यति नै फर्सी फल्यो । अहिले सिमी, बोडी लगाएको छु,” मस्र्याङ्गीले भन्नुभयो । मस्र्यांगीको चार जनाको परिवार छ । अहिले व्यावसायिक खेती गर्न थालेपछि सबैको खर्च चलेको उहाँले बताउनुभयो । “परिवारसँगै काम गर्दा सबैको साथ पाइएको छ,” उहाँले भन्नुभयो । 

मस्र्याङ्गीले गर्नुभएको खेती देखेर छरछिमेक पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उहाँले बताउनुभयो । गाउँकै बचत तथा ऋण समूहमा आबद्ध व्यक्ति अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।