• २३ मङ्सिर २०८२, मङ्गलबार

बागलुङमा चालु वर्षको चौमासिकमा १७ प्रतिशत कर सङ्कलन

blog

बागलुङ बजारस्थित आन्तरिक राजस्व कार्यालय । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २३ गते ।
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १६.८१ प्रतिशत कर सङ्कलन गरेको छ । चालु आ.व.मा कुल एक अर्ब ४३ करोड ३४ लाख कर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले पहिलो चौमासिकमा २४ करोड पाँच लाख ४७ हजार राजस्व सङ्कलन गरेको हो ।

पहिलो चौमासिकको लक्ष्यमा कार्यालयले ६५ प्रतिशत कर सङ्कलन गर्न सफल भएको हो । जेनजी आन्दोलनको कारण व्यवसायमा आएको गिरावट लगायतले कर सङ्कलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

कार्यालयले पहिलो चौमासिकमा आयकरतर्फ ११ करोड ९२ लाख ३१ हजार रुपियाँ, बहाल करतर्फ नौ लाख ५० हजार, व्याजतर्फ तीन करोड ५६ लाख ९१ हजार र मूल्य अभिवृद्धि करतर्फ पाँच करोड ५३ लाख ४१ हजार रुपियाँ कर सङ्कलन भएको प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिनुभयो । त्यसबाहेक अन्तशुल्कतर्फ दुई करोड ६९ लाख ३९ हजार रुपियाँ सङ्कलन भएको छ । यो लक्ष्यको ९९ प्रतिशत हो । त्यस बाहेक स्वास्थ्य करतर्फ २३ लाख ९४ हजार सङ्कलन भएको छ ।

पछिल्लो समय सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठुलो कार्यालयमा तिर्न थालेका छन् । यसले कर सङ्कलनमा कमी अङ्क देखिएको सूचना अधिकारी राजनमणी शर्माले बताउनुभयो । उहाँका अनुसार, आयकरमा साना व्यवसायीलाई छुटको स्किम दिँदा अघिल्लो वर्ष कर सङ्कलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायी कर तिर्न ढिला गरिरहेका छन् । त्यस बाहेक बिदाको दिन पनि कर कार्यालय नियमित सञ्चालन गरेर राजस्व सङ्कलनको काम गरिएको छ ।

आ.व. २०८१/८२ मा बागलुङमा एक अर्ब सात करोड ६६ लाख रुपियाँ कर सङ्कलन भएको थियो । एक अर्ब २२ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्यको ८८ प्रतिशत सङ्कलन गरेको कार्यालयले यसवर्ष एक अर्ब ४३ करोडको लक्ष्य पच्छ्याएको छ ।

सङ्कलित करमध्ये सबैभन्दा धेरै आयकरबाट सङ्कलन हुने गरेको छ । गत आ.व.मा आयकरबाट मात्र ६० करोड १० लाख रुपियाँ कर सङ्कलन भएको हो । त्यस बाहेक व्याज करबाट १० करोड ४१ लाख, भ्याटबाट २९ करोड ७४ लाख, अन्तशुल्कबाट पाँच करोड ८५ लाख, बहालकर बापत एक करोड ५३ लाख र शैक्षिक करबाट पाँत करोड ८५ लाख रुपियाँ सङ्कलन भएको थियो ।

अघिल्लो आ.व. २०८०/८१ मा एक अर्ब २० करोड सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले ८० प्रतिशत अर्थात् ९६ करोड ६७ लाख रुपियाँ मात्रै कर सङ्कलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी कर सङ्कलन गरेको कार्यालयले यो वर्ष लक्ष्य बढाउने रणनीति बनाएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

पछिललो समय ५० करोडसम्मको आय भएका लघुवित्तहरु माथिल्लो तहमा कर तिर्न जान थालेका छन् । लघुवित्तहरु जिल्लामै रहुन्जेल आ.व. २०७६/७७ मा ९९ करोड ९७ लाख सङ्कलन गरेर एक सय तीन प्रतिशत र आ.व. २०७७/७८ मा १ अर्ब नौ करोड कर सङ्कलन गरेर एक सय २६ प्रशित प्रगती भएको थियो ।