अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २३ गते । बदलिँदो समाजमा बालिका र किशोरीहरु विभिन्न किसिमका हिंसा, दुर्व्यवहार तथा असुरक्षाको शिकार बन्ने गरेका छन् ।
यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले जिल्लाका किशोरीहरुलाई शारीरिक र मानसिक तरिकाले उनीहरुलाई सुरक्षित राख्न सक्षम बनाउने उद्देश्यले चापाकोटको सिटीहलमा आत्मरक्षा तालिम दिएको हो ।
किशोरीहरु एक्लै हिँड्डाल गर्दा र मेलापात घाँसदाउरा गर्दा हुन सक्ने सम्भावित लैङ्गिक हिंसाको अवस्थामा आवश्यक पर्दा प्रतिकारसहित आफ्नो रक्षा आफैँ गर्न सकुन भन्ने उद्देश्यले विभिन्न चरणका सीपमार्फत् किशोरिहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।
लैङ्गिक हिंसाको १६ दिने अभियानको अवसरमा कार्यालयले आयोजना गरेको कार्यक्रममा दुई दिन सञ्चालन भएको थियो ।
तालिममा किशोरिहरुलाई गुड टच र व्याड टचको अवस्थाको विश्लेषण गर्न, बालिका र किशोरीमा नेतृत्व विकास, साइबर अपराधबाट सुरक्षाका उपायलगायत शारिरिक र मानसिक रुपमा आत्मसुरक्षाका चरणबद्ध सीपहरुको प्रशिक्षण गरिएको थियो ।

तालिममा गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आत्मरक्षा तालिम निकै महत्त्वपूर्ण रहेको भन्दै नेपाली समुदायको पुरातन परम्पराले महिला दिदिबहिनीहरुलाई साँघुरो घेरामा राखेको बताउँदै यस्ता किसिमका तालिमले त्यस्ता घेरालाई तोड्न सहयोग गर्ने बताउनुभयो ।
एकीकृत सेवा कार्यालय स्याङ्जा प्रमुख जीवन पौडेलले यस किसिमको तालिमले किशोरीहरूलाई आफूलाई सुरक्षित राख्ने उपायहरू मात्र सिखाउँदैन, उनीहरूलाई हरेक परिस्थिति सामना गर्ने साहस र आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी नायब उपरीक्षक दिपक मल्लले लैङ्गिक हिंसा अन्त्य गर्न सचेतनासँगै कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
तालिममा कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले आत्मरक्षासम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
यस्तै, प्रशिक्षक आयुष्मा काफ्लेले गुड टच र ब्याड टचको विषयमा प्रशिक्षण दिनुभएको थियो भने बिना रेग्मीले बालिका र किशोरीहरुमा नेतृत्व विकास तथा उत्प्रेरणाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा चापाकोट नगरपालिकाका विद्यालय तथा जिल्ला बाल सञ्जालका ६० जना बालिका र किशोरीहरुलाई तालिम सञ्चालन गरिएको थियो ।