• २३ मङ्सिर २०८२, मङ्गलबार

आठौँ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी आत्मबोध माविलाई

blog

आठौँ राष्ट्रपति रनिङ्गशिल्ड बिजेता आत्मबोध मावि । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर २३ गते ।
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उपाधी आत्मबोध मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले जितेको छ । १३ स्वर्ण, चार रजत र छ कास्य गरेर २३ पदकसहित आत्मबोध प्रथम भएको हो ।

यो विद्यालयले लगातार तीन पटक विजयी बनेर रनिङ्गशिल्ड कब्जा गरिसकेको छ । त्यस्तै जनजागृती मावि छत्रकोट गाउँपालिका–१ हुँगाले पाँच स्वर्ण, तीन रजत र दुई कास्य गरेर १० पदकसहित द्वितीय स्थान प्राप्त गरेको छत्रकोट गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक सीता खत्रीले जानकारी दिनुभयो ।

यसैगरी, जन मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले तीन स्वर्ण, छ रजत र तीन कास्य गरेर १२ पदकसहित तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीयले क्रमशः २५, २० र १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्राविधिक सहायक खत्रीले बताउनुभयो । आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा विजेतासहित जनज्योति मावि पल्लीकोट, सरस्वति मावि भेडुवा, छत्रदेवि इभरग्रिन बोर्डिङ्ग स्कुल भेडुवा, मैनडाँडा मावि हर्दिनेटा सहभागी रहेको थियो ।

त्यस्तै, श्रृङ्गा जनता माविका श्रृङ्गा, आर्दश मावि दिगाम, नेपाल राष्ट्रिय मावि दौघा, झेर्दी आधारभूत विद्यालय हुँगा, चण्डीदेवि आधारभूत विद्यालय नरम, सरस्वती बोहा आधारभूत वद्यालय दिगाम र आर्दश आधारभूत विद्यालय गैरीखुट्टा गरेर १४ विद्यालयको प्रतियोगितामा सहभागिता रहेको थियो ।

विजेता विद्यालयहरुलाई पुरस्कार प्रदान गर्दै छत्रकोट गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले खेललाई व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले छत्रकोटमा जन्मिएका अर्जुन कुमाल अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल भएकाले विद्यालय क्षेत्रबाटै खेलको विकास गर्न राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो ।