• २२ मङ्सिर २०८२, सोमबार

टिमुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

blog

गङ्गा कसमारी मिजार 

रसुवा, मङ्सिर २२ गते । भारतीय राजदूतावासबाट प्राप्त एम्बुलेन्स गोसाइँकुण्ड गाउँपालिकाले  टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

आइतबार छैटौं गोसाइँकुण्ड गाउँपालिका स्तरीय राष्ट्रप्रति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित उद्धघाटन समारोहबिच गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङले एम्बुलेन्सको चाबी समितिका अध्यक्ष तथा वडा २ का अध्यक्ष कामी छिरिङ तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दुतेन्द चाम्लिङले भारतीय राजदूतावासबाट स्थानीय तह, स्वास्थ्य चौकी तथा अस्पतालहरूलाई माग अनुसार सहयोग वितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि गाउँपालिकाले पहिलोपटक प्राप्त गरेको एम्बुलेन्स हाल वडा ६ मा सञ्चालनमा छ । 

चाम्लिङले भौगलिक रूपमा नेपालको विभिन्न क्षेत्रलाई लक्षित गरी सञ्चालन भइरहेको सहयोग कार्यक्रमले स्थानीय जनजीवन सहज बनाउनुका साथै नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो ।