• २२ मङ्सिर २०८२, सोमबार

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

blog

फ्रान्कफर्ट, जर्मनी, मङ्सिर २२ गते । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो ।

विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका छन् । आईएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेज्कीले भन्नुभयो, “दोस्रो लगातार महिनामा वृद्धि देखिनु औद्योगिक उत्पादनले अन्ततः तलबाट स्थिर हुँदै आएको सङ्केत हो ।”

तर अर्थतन्त्र मन्त्रालयले अझै सतर्क रहनुपर्ने बताए । मन्त्रालयका अनुसार घरेलु अर्डर भने बलियो छन्, तर विदेशी माग कमजोर छ । मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, “सेप्टेम्बर र अक्टोबरमा उत्पादनको सकारात्मक प्रवृत्ति देखिए पनि वर्षको अन्त्यतिर औद्योगिक गतिविधिमा ठुलो वृद्धि अपेक्षित छैन ।”

डेस्टाटिसका अनुसार, निर्माण क्षेत्रमा उत्पादन अक्टोबरमा ३.३ प्रतिशतले बढेको छ भने मेसिनरी र उपकरण निर्माणमा २.८ प्रतिशतको वृद्धि देखिएको छ । तर सङ्कटग्रस्त मोटर उद्योगमा १.३ प्रतिशत गिरावट आएको छ । औद्योगिक अर्डर पनि अक्टोबरमा बढेको थियो, जसले भविष्यमा व्यवसाय गतिविधि बलियो हुने सङ्केत दिन्छ । यस वृद्धिमा जर्मनीले आफ्नो रक्षा सामग्रीको माग बढाएकोले ठूलो योगदान पुर्याएको छ ।

चान्सलर फ्रिड्रिक मर्जले दुई वर्षको मन्दीपछि अर्थतन्त्रलाई पुनः सक्रिय गर्न रक्षा र पूर्वाधारमा सार्वजनिक खर्च बढाउनु भएको छ । यद्यपि केही आलोचकले यो कदम सुस्त गतिमा अघि बढिरहेको ठान्छन् । जर्मनी सरकारले २०२५ मा अर्थतन्त्रले मात्र ०.२ प्रतिशत वृद्धि गर्ने र २०२६ मा यस खर्च वृद्धिको फाइदा उठाउँदै आर्थिक गति लिने अनुमान गरेको छ । रासस/एएफपी