शशिधर पराजुली
विराटनगर, मङ्सिर २२ गते । आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
सङ्घका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको तयारीबारे जानकारी दिनुभएको हो । एक्स्पो सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपियाँ खर्च हुने अनुमान आयोजकको छ । १० दिनसम्म चल्ने एक्स्पोमा २५ देखि ३० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको संयोजक अमित सारडाले जानकारी दिनुभयो ।
एक्स्पोमा जर्मन प्रविधिको ह्याङ्गरसहित करिब २३० वटा स्टल रहने छन् । जसमा कृषि, पर्यटन, सूचना प्रविधि र अटोमोबाइल्सका उत्पादनहरू प्रदर्शनीमा राखिने छ । विशेषगरी, मेलामा अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिइएको छ । हालसम्म भारत, बङ्गलादेश र पाकिस्तान लगायतका देशबाट २६ वटा स्टल बुकिङ भइसकेको र अझै सम्पर्कमा रहेकाले यो सङ्ख्या बढ्न सक्ने सङ्घले जनाएको छ । विदेशी उत्पादनहरूको सहज अवलोकनका लागि विदेशी स्टलहरूलाई छुट्टै डोममा राखेर फरक पहिचान दिइने व्यवस्था मिलाइएको छ ।
बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । दर्शकलाई आकर्षित गर्न ‘फिस टनेल’ (माछाको सुरुङ), किड्स जोन र सेल्फी जोन जस्ता संरचना निर्माण गरिने छ । साथै, हरेक साँझ ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा ब्यान्डहरूको सांगीतिक प्रस्तुति रहने छ ।
मुलुककै जेठो उद्योग वाणिज्य सङ्घका रूपमा रहेको मोरङ उद्योग व्यापार सङ्घले स्थानीय उत्पादनको बजार विस्तार र कोशी प्रदेशको पर्यटन प्रवर्धनमा यो एक्स्पो कोसेढुङ्गा साबित हुने विश्वास लिएको छ । एक्स्पोको मुख्य प्रायोजकमा एसियन थाई फुड्स (रमपम) र मारुती सिमेन्ट रहेका छन् ।