• २२ मङ्सिर २०८२, सोमबार

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ : सञ्चारमन्त्री खरेल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नक्खुस्थित एनसेल कार्यालयको अवलोकन गर्दै । तस्बिर : सञ्चार मन्त्रीको सचिवालय

  • जेनजीलाई लक्षित गरी १०० जना विद्यार्थीलाई रु. एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी 

कठमाडौँ, मङ्सिर २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताउनु भएको छ ।

नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनका क्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानित हुनु पर्‍याे, जति पनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेसका लागि सरकारको साथ सहयोग रहन्छ ।”

सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताउनु भयो । “केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनु पर्छ भन्नेमा सरकार विश्वस्त छ”, उहाँले भन्नुभयो । 

सञ्चारमन्त्री खरेलले एनसेलको कार्यालय, डेटा सेन्टरको अवलोकन गर्नुभएको हो । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएको थियो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार करिब ६५ करोड बराबरको क्षति भएको थियो ।

अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताउनु भयो । उहाँले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गर्नु भयो । 

“मैले उहाँहरूलाई विद्यार्थी र जेनजीका लागि केही गर्नु होस् भनेको थिएँ, उहाँहरूले नयाँ प्याकेज ल्याउँछौँ भन्नु भएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरूले आफ्नो योजना सुनाउनु भएको छ”, मन्त्री खरेलले भन्नुभयो । 

उहाँले एनसेलमा ठुलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताउनु भयो । 

एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुक भरका १०० जना विद्यार्थीलाई एक करोड राशीको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । 

एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँच वटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तरराष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो,“टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ ।”