• १२ असार २०८१, बुधबार

संसदीय निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : कांग्रेस उपसभापति खड्का

blog

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, असार २४ गत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले संघ र प्रदेशको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनले पार्टीमा थप ऊर्जा प्राप्त भएको बताउँदै उहाँले आगामी निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो पार्टी बनाउने जिम्मेवारी कार्यकर्तामा रहेको धारणा राख्नुभयो । 

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आज पोखरामा भएको बैठकलाई सम्बोधन गर्नुहुँदै उपसभापति खड्काले वर्तमान सरकार बन्नुभन्दा अघि संविधान, नियम कानुन सबै मिचिंदै गएपछि तत्कालीन बाध्यात्मक परिस्थितिले गर्दा वर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट पार्नुभयो । 

गठबन्धनको चुरोलाई सबै कार्यकर्ताले मनन गरी आगामी निर्वाचनमा पनि गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘संसदीय निर्वाचनमा गठबन्धन हुने नहुने कुरा पार्टीले निर्णय गर्नेछ तर मेरो विचारमा गठबन्धन गरेरै जानुपर्छ र संविधानलाई सही मार्गमा ल्याई शान्ति प्रक्रियालाई पूरा गर्नुपर्छ ।’’

कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्दै नेता खड्काले  स्थानीय तहको निर्वाचनमा टिकट बाँड्दा केही कमीकमजोरी भएका छन् । मैले पनि त्यसको जसअपजस लिनुपर्छ । अब हुने निर्वाचनमा यस्ता कमीकमजोरी सुधार गरी जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले जोड्नुभयो, ‘‘गत स्थानीय निर्वाचनमा भएका कमीकमजोरीले गर्दा एकसय भन्दा बढी स्थानका पालिकामा पार्टीले हार ब्योहोर्नु परेको छ । सबै कमजोर पक्षलाई समीक्षा गर्दै नेपाली कांग्रेस पार्टीलाई जिताउन केन्द्रित हुनुहोस् ।’’

नेता खड्काले निर्वाचनमा टिकट वितरण गर्दा गुटका आधारमा नभई त्याग, योगदान र लोकप्रियतालाई आधार बनाएर मूल्याङ्कन हुनुपर्ने जिकिर गर्दै कांग्रेसलाई युगानुकूल रुपान्तरण गरी नयाँ पुस्तालाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो । 

उहाँले थप्नुभयो, मुलुकलाई रुपान्तरण गर्ने पनि कांग्रेस भएकाले अब कुरा होइन काम गर्ने समय आएको छ । पाटीभित्रको अनुशासनका बारेमा बोल्दै उहाँले निर्वाचनमा घात र अन्तर्घात मात्रै होइन पार्टीको नीति र सिद्धान्त विपरीत बोल्नेहरु माथि पनि सोच्ने समय आएको बताउनुभयो ।  

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गत स्थानीय निर्वाचनमा भएका कमजोरीलाई समीक्षा गरेर अगाडि बढ्नुपर्ने प्रष्टयाउनुभयो । बैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनेमा जोड दिनुभएको थियो । 

  बैठकमा जिल्ला समन्वय समिति स्याड्जाका सभापति श्रीप्रसाद जिटी र जिल्ला समन्वय तनहुँका सभापति कमलमोहन वाग्लेलाई बधाई ज्ञापन गरिएको थियो । 

त्यसैगरी, प्रदेश सदस्य संज्ञा पौडेल पोखरेलको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बैठकले प्रदेशभरका ११ जिल्ला समन्वय समितीको टिकट बितरणलाई अनुमोदन, निर्वाचन समीक्षा, बिपि स्मृति पुस्ताकालय स्थापना र सूचना सञ्चार तथा प्रचार विभागको कक्ष स्थापना गरी प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।