• १९ फागुन २०८२, मङ्गलबार

एचआइभी सङ्क्रमितलाई सामाजिक विभेदको चिन्ता

blog

नवराज नेपाली 

बागलुङ (गलकोट), मङ्सिर २२ गते । १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधी सेवन गर्दै आउनुभएको बागलुङ नगरपालिका निवासी एक महिलाले समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताउनुहुन्छ । उहाँले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई समेत हेलाको भावले हेर्ने गरेकाले आफूजस्ता सङ्क्रमित खुल्न डराएको बताउनुभयो ।

“आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरूको सरहनै छ तर सङ्क्रमित भएको थाहा पाएपछि परिवारनै समाजबाट अपहेलित हुनुपर्ने, विद्यालयमा हेला हुनुपर्ने तथा विभिन्न लान्छना लाग्ने गर्दछ” सङ्क्रमित महिलाले भन्नुभयो “ सङ्क्रमित भएर अन्य नागरिक सरह हिँड्न समस्या छ, परिवारबाट समेत तपाईं खुलेमा हामीलाई सङ्क्रमितको परिवार भन्छन् भन्ने सुझाव आउँछ ।”

सङ्क्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन् ।

बागलुङमा पछिल्लो समय सङ्क्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेरै समाजमा आउनेको सङ्ख्या न्यून छ । पछिल्लो समयमा सङ्क्रमितहरूले परिक्षण गर्ने, सङ्क्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ ।

धौलागिरि अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैर सरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरू सम्पर्कमा आउन थाले पनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउछन् ।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरूको परामर्श, परिक्षण तथा नियमित रूपमा औषधी उपचार र गोपनियताका कारण सङ्क्रमितहरू सम्पर्कमा भने आउन थालेका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार बागलुङ जिल्लामा १९ बालबालिका सहित २१५ जना सङ्क्रमितहरू नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना सङ्क्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना सङ्क्रमित थप भइसकेको छ । उनिहरूले सामाजिक विभेद रहेकाले आफूहरू खुल्न नसकेको बताउँदै आएका छन् । उनिहरुलाई गोपनियताको ढङ्गले औषधी दिने तथा परामर्श दिँदै आएको शर्माको भनाइ छ । परिक्षण र परामर्शको दायरा बढाएपछि सङ्क्रमितको सङ्ख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमितहरु पनि अरू मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमुनाहरू सङ्कलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेकोे धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनुभयो ।

सेन्टरले एचआइभी एड्स सम्बन्धी गैर सरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितहरूलाई उचित परामर्श, नियमित औषधी उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।