• १८ असार २०८१, मङ्गलबार

शैली पुस्तक विमोचन

राष्ट्रिय एकतालाई समृद्ध बनाउन रेडियो नेपालको भूमिका महत्वपूर्ण : मन्त्री कार्की

blog

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सम्बोधन गर्नुहुँदै । तस्बिर : रेडियो नेपाल

गोरखापत्र अनलाइन 

काठमाडौं, असार २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालको गरिमा र महत्वलाई समयानुकूल अगाडि बढाउँदै देशका सबै भाषाभाषी, समुदाय र कुनाकाप्चामा पुराउनुपर्ने बताउनुभएको छ । 

रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन एवम् समावेशी तालिम समापन समारोहमा मन्त्री कार्कीले विविधितामा एकता नै मुलुकको विशिष्ट पहिचान भएको बताउनु भयो । 

उहाँले विविधितालाई राष्ट्रिय पुँजीका रुपमा विकास गरी जातीय सदभावलाई समृद्ध बनाउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।  । 

मन्त्री कार्कीले अहिलेको समय र समाजको गतिशीलतालाई बुझेर रेडियो नेपाललाई सबै जनताको मनमा बस्ने प्रसारणको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले रेडियो नेपालको शैली पुस्तकले प्रसारण शैलीमा थप निखार ल्याउने बताउनु हुँदै समावेशी तालिमबाट प्राप्त ज्ञानसिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने भन्नुहुँदै यसमा सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारणलाई फरक र आफ्नै शैलीको बनाउन रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक थप सहयोगी हुने बताउनुभयो । 

निर्देशक केसीले रेडियो नेपाल प्रसारण क्षेत्रकै जननी भएकाले अरुको नक्कल गर्ने नभई पृथक ढङ्गले अगाडि बढ्न शैली पुस्तकले प्रसारण र प्रस्तुतिलाई थप समावेशी र आकर्षक बनाई सबैको मनमा बस्ने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले शैली पुस्तक निर्माणका क्रममा विज्ञहरुको सल्लाह र सुझाव अनुसार अगाडि बढेको भन्नुहुँदै शैली पुस्तकले प्रसारण सामग्रीमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

सञ्चार क्षेत्रका विज्ञहरु डा. सुरेश आचार्य, धर्मेन्द्र झा, अनिता गुरुङ, टिकाराम यात्री र जनार्दन विष्टले समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तीन दिने  तालिम प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालिममा सहभागी रेडियो नेपालका कार्यक्रम तथा समाचारमा रहेर काम गर्ने ६५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

गत बुधबारदेखि सुरु भएको ३ दिने समावेशी तालिममा सहभागीमध्ये चन्द विष्ट र अच्युत अर्यालले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन गर्नुभयो ।